काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच सहमति हुनुलाई दास र मालिकबीचको सम्बन्धको रुपमा हेरेका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल र राजपा संयोजक राजेन्द्र महतोबीच हिजो(बुधबार) राष्ट्रियसभामा प्रदेश–२ मा रिक्त चार मध्ये दुई–दुई सिट लिने सहमति भएको थियो ।
उक्त सहमतिबारे टिप्पणी गर्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ/दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न!फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन्!अहिलेका नया मालिकहरू झन धूर्त छन्!खाचो छ नयाँ स्पार्टाकसको!सबैलाई चेतना भया!”