एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफविरुद्ध फाँसीको सजाय सुनाएको विशेष अदालतको पूर्ण पाठलाई स्थानीय एवम् अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले महत्वपूर्ण तवरले प्रकाशित गरिरहेका छन् ।
इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार अदालतको फैसलामा लेखिएको छ, ‘फाँसीको सजायभन्दा पहिले नै मुसर्रफको मृत्यु भएमा उनको शव इस्लामाबादको डी–चाेकमा तीन दिनसम्म झुण्ड्याएर राखिनेछ । हामीले अभियुक्तलाई हरेक अपराधमा दोषी पाएका छौं । यसकारण उनलाई फाँसीमा अन्तिम सास रहुञ्जेलसम्म झुण्ड्याइनेछ ।’
लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति मुसर्रफविरुद्ध गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ ।
पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ ।
अदालतले कानुनका प्रवर्तक निकायलाई अदालतको फैसला कायान्वयन गर्न निर्देशन पनि दिएको छ । ‘हामी कानुन प्रवर्तन एजेन्सीहरूलाई निर्देशन दिन्छौं कि दोषी व्यक्तिविरुद्ध कानुनी सजाय दिने काम पूरा गरून्, यदि यसअघि नै उनी मृत भेटिए उनको शव पाकिस्तानको राजधानी इस्लामाबादस्थित डी–चोकमा लैजानू र त्यहाँ तीन दिनका लागि झुण्ड्याउनू ।’
पाकिस्तानको एक विशेष अदालतले गत मंगलबार मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै संविधानको अनुच्छेद ६ बमोजिम मृत्युको सजाय सुनाएको थियो । पाकिस्तानको इतिहासमा आर्मीको पूर्वप्रमुखलाई देशद्रोहको मुद्दामा दोषी ठहर गरी मृत्यदण्ड सुनाइएको यो पहिलो घटना हो ।
पूर्वसैनिक मुसर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरे । आर्मीको पूर्वप्रमुख मुसर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निश्कर्ष छ । उनका वकिलले भने पुनरावेदन गर्ने बताएका छन् ।
७६ वर्षीय मुसर्रफ अहिले दुबईमा उपचाररत छन् । अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको दाबी गरेका छन् ।
मुसर्रफविरुद्ध अदालतको फैसलाप्रति पाकिस्तानी सेनाले भने तीव्र असन्तुष्टि जनाएको छ । सेनाले फैसलालाई दुःखद् भनेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले गत मंगलबार विज्ञप्ति जारी गर्दै मुसर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको र यो निकै दुःखद् भएको बताएका थिए ।