काठमाडौं । नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण लगायत नेपाल तरुण दलका पूर्व सचिव एवं नेपाली काँग्रेस महासमिति सदस्यजन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष विद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ, रामकृष्ण श्रेष्ठ सहितको टोलीले आज परराष्ट्र मन्त्री माननीय प्रदिप ज्ञवालीलाई भेटी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।
‘वर्क प्रमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएका छन् । काठमाडौं देखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको छ ।
काठमाडौं–हङकङ–मकाउ/मकाउ–हङकङ–काठमाडौं सबै भन्दा पायक र सहज रुटमा रहेको छ । तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था नभएकोले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि प्रमुख सचेतक बालकृष्ण खाणले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका हुन् ।
भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिवद्धता जनाए ।