काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले छलफलका क्रममा आएका टिप्पणी, सुझाव र आलोचनासहित परिमार्जन गरी राजनीतिक प्रतिवेदन पारित गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । दुई अध्यक्षका तर्फबाट प्रचण्डले स्थायी कमिटीमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ। साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।
महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ।
यसअघि नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन । अब भने एक उपाध्यक्ष रहने व्यवस्था विधानमै हुने भएको छ । सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो । नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक डाकेको छ।
बैठकले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत फिर्ता ल्याउन र सीमा विवाद हल गर्न पार्टीले पुनस् ठोस पहल गर्नुपर्ने पनि निर्णय गरेको छ।
सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ। यस्तै बैठकले एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।