पर्यटन/संस्कृति

ठमेलबाट पोल-पोलमा झुण्डिएको बम हट्दै, टेलिफोन–इन्टरनेट भने अवरुद्ध..

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये एक  ठमेल अब  ताररहित हुने भएको छ ।

काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, विद्युत प्रधिकरण, महानगरीय प्रहरी कार्यालय(रानी पोखरी)का प्रतिनिधीबीच मंसिर १६ गते भएको छलफलअनुसार ठमेल ताररहित हुने भएको हो ।

सोही निर्णय अनुसार केही दिन अघि देखि शुरु गरिएको तार कटानको क्रममा थुप्रै विवादहरू सामुन्ने आएका छन् ।

अहिले यसरी तार काटेपछि ठमेल इन्टरनेटरहित भएको छ। अर्थात सबै तारहरु काटिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको हो। परिषदले तारपछि होडिङ बोर्डहरुको व्यवस्थापन समेत गर्ने बताएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइर्ईस्पान), ठमेल पर्यटन विकास परिषद् नाम गैरसरकारी संस्था आदिको इच्छाशक्ति असल हुँदाहुँदै पनि काटिएका तारको उचित व्यस्थापन हुन् नसक्दा समस्याहरू निम्तिएका छन् ।

आइर्ईस्पानले ठमेलमा विना समन्वय तार काटिँदा ५ करोड बाराबरको क्षति भएको दावी गरेको छ । आईईस्पानका अध्यक्ष भोजराज भट्टले कानून हातमा लिएर दूरसञ्चार सेवा अवरुद्ध पार्ने काम भएको भन्दै सोमबार प्रहरीमा उजुरी दर्ता गर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल पनि कानून हातमा लिएर काम भएको बताउँछन् । तर, काम असल नियतका साथ् गरिएकाले यसलाई समन्वयात्मक रुपमा अघि बढाइने उनको तर्क छ ।

‘तार व्यवस्थापनको काम हामीले सेवा प्रदायककै सहभागितामा गरिरहेका थियौं, अहिले उहाँहरुले सेवा नै रोकिने गरी तार काट्नुभएछ, हामीलाई जानकारी पनि दिइएन,’ उनले भने, ‘हामी ठमेल पर्यटन विकास परिषद्सँग छलफल गरेर यसलाई टुंग्याउँछौं ।’

पर्यटन वर्ष २०२० लाई ध्यानमा राखेर पनि अस्तव्यस्त तार काट्ने काम भइरहेको परिषदका कोषध्यक्ष पुण्यराम लागेजुले बताए । उनले बताएअनुसार ठमेलका पोलमा टाँगिएका झुन्ड्याइएका ९५ प्रतिशत तार बेकामे र अनावश्यक छन् ।

केहि दिनहरू तारका गुजुल्टोहरूले समस्या निम्ताउन सकिने बताइएको छ ।  यस कदमसँगै पोलपोलमा झुण्डाइएको बम (तारको गुजुल्टो)को जोखिम कम हुनेछ ।