बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट सितादेवी रोकाया घाइते भएकी छन् । सोमबार दिउँसो १ बजेतिर नगरपालिकाको कोइरालीखेतमा ४० वर्षिया रोकाया गम्भीर घाइते भएकी हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताएअनुसार उनको बझाङ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको छ । घाइते रोकायाको टाउकोको छालासहितको भित्री भाग निक्लिएको उनले बताए ।
उनले जिल्ला डिभिजन वन कार्यालय र गृह मन्त्रालयसँग कुरा भइरहेकाले भालुलाई वनतर्फ धपाउने वा गोली हानेर मार्ने भन्ने कुरा यकिन हुने बताए । भालु नियन्त्रण लिन जनशक्ति र स्रोत साधन नहुँदा समस्या भएको हो ।
एउटा माउ भालु र दुई वटा बच्चासहित तीन भालु एक एक हप्तादेखि जयपृथ्वी नगरपालिकाका विभिन्न गाउँ पसेर आतङ्क मच्चाइरहेका छन् ।
यी तिन वटै भालुले गोठभित्रै पसेर विभिन्न गाउँबाट गरी तीन गोरु मारेका छन् । भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वन डिभिजन कार्यालय, शसस्त्र प्रहरी र स्थानीयको टोली खटिएको छ ।