पु.समाचार

सबैभन्दा धेरै छावा जन्माउने पूजाकलीको मृत्यु

काठमाडौं । धेरै छावाहरुलाई जन्म दिएकी पूजाकली हात्तिको मृत्यु भएको छ । चितवनको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको उपचारका क्रममा मृत्यु भएको हो ।

एक वर्षदेखि नियमित उपचार गरिदैं आएको भए पनि मंगलबार विहान उनको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

वि.सं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् ।

पूजाकलीको उपचारमा लाखौं रकम खर्च भएको निकुञ्जका वरिष्ठ चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिए । उपचार गर्दा पनि बचाउन नसकिएको उनको भनाई रहेको छ ।