काठमाडौं । समाजवादी पार्टी सरकार छाड्ने निष्कर्षमा पुगेको छ । संविधान संशोधनको प्रस्ताव सरकारले अस्वीकार गरेकाले सरकारमा बस्नुको कुनै औचित्य नरहेको निचोड निकाल्दै समाजवादी सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको हो ।
स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । तर, प्रधानमन्त्रीले अहिले रोकौं भनेपछि समाजवादी नैतिक संकटमा परेको हो ।
बैठकका क्रममा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मेरो एउटा प्रस्ताव छ’ भन्दै बन्द खाम टेबुलमा राखेका थिए । प्रधानमन्त्रीले के प्रस्ताव हो ? भनेपछि उनले संविधान संशोधनबारे भएको बताए । यादवले त्यति भन्नासाथ प्रधानमन्त्री ओली ‘स्टप इट’ भन्दै उनले मन्त्री यादवलाई झपारेका थिए ।
संविधान संशोधनको मादल बजाउने समय नभएको भन्दै प्रधानमन्त्री ओलीले एकपटक संशोधन गरेर देश विदेशबाट स्वीकार्य बनाइएको हो । बारम्बार क्याबिनेटले गर्ने विषय होइन, यो प्रक्रिया पनि मिलेन, स्टप इट भन्दै जवाफ दिएका थिए ।
प्रधानमन्त्रीको धारा प्रबाह रुपमा बोलिरहँदा मन्त्री यादव चुपचाप निरिह बनेको एक मन्त्रीले बताए । त्यो संगै मन्त्री यादवले अपमान सम्झेका छन । उनले भने, “हामी सरकारमा गएको संविधान संशोधन गर्ने भनेर हो। संविधान संशोधन गर्ने सही समय यही थियो । अब हामी कसरी अगाडि बढ्ने पार्टीमा छलफल गर्छौं। नेपाली कांग्रेससँग पनि कुरा गर्छौं। संविधान संशोधनका लागि विज्ञ समूह गठन गरौ भन्दा प्रधानमन्त्रीले अस्वीकार गर्नु भयो ।”
मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरकार छाड्ने निर्णय गरेसँगै मन्त्री यादवकाे राजीनामा कहिले आउँछ भन्ने चर्चा चुलिएको छ । समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले पार्टीले निर्णय गरेर औपचारिक जानकारी दिने बताए ।
संशोधन प्रस्तावमा के थियाे हेर्नुहाेस