काठमाण्डाै । राजधानी काठमाण्डाैमा स्वाइन फ्लु र हङकङ फ्लु सार्ने इन्फ्लुएन्जा ‘ए’ को सङ्क्रमण देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसारउपचारका लागि अस्पताल पुगेका १५ वर्षीय एक किशोरमा इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि भएको छ ।
ती किशोरलाई स्वाइन फ्लु र हङकङ फ्लुमध्ये एउटा भएको भए पनि यीमध्ये कुन चाहिँ फ्लु भएकाे हाे भन्ने टुङ्गो लाग्न बाँकी छ । परीक्षणको थप रिपोर्ट आएपछि यो पनि थाहा हुने डाक्टर पुनले जानकारी दिए। स्वाइन फ्लु ‘एन वन एच वन’ विषाणुका कारण हुने गर्छ ।
यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर मासु पकाएर खाँदा भने नसर्ने उनको भनाई छ । यो रोग मानिसमा लक्षण देखाउनुभन्दा एक दिन अगाडिबाट सात दिनसम्म सार्न सक्ने उनको भनाइ छ । स्वाइन फ्लु र हङकङ फ्लु सर्ने भएकाले बिरामीको स्याहार गर्नेले पनि सावधानी अपनाउनुपर्ने उनले बताए ।
लक्षणहरू के-के हुन् ?
स्वाइन फ्लु लागेमा ज्वरो आउने,
खोकी लाग्ने,
नाकबाट पानी बग्ने,
श्वास फेर्न गाह्रो हुने,
घाँटी, शरीर तथा टाउको दुख्ने, काँप्ने,
अल्छी लाग्ने,
कसैकसैलाई झाडापखाला र बान्ता हुने,
अन्त्यमा रोग कडा हुँदै शरीरको प्रतिरक्षा शक्ति कमजोर भइ निमोनिया भएर बिरामीको ज्यानै समेत जानसक्छ ।
बच्न के गर्ने ?
खोक्दा या हाच्छियुँ गर्दा नाक र मुख सफा रुमाल, कपडा वा पाखुराले छोप्ने,
सही तरिकाले साबुनपानीले हातमुख धुने,
हात नमिलाउने तर नमस्कर गर्ने,
सिटामोल खाएर न्यानो भएर बस्ने तथा तातो झोलिलो कुरा खाने,
संक्रमित व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम राख्ने गर्नाले पनि बच्न सकिने डाक्टरहरू बताउँछन्।
यस्तै अहिले मौसमी रुघाखोकी र फ्लुका बिरामी बढेकाले सावधानी अपनाउन पनि डाक्टरले आग्रह गरेका छन् । मौसमी रुघाखोकी र फ्लुकाे लक्षण उस्तै भए पनि फ्लु लागेका बिरामीले डाक्टरको सल्लाहअनुसार औषधि खानैपर्ने तर मौसमी रुघाखोकी लागेका बिरामीले घरमै आराम गरेर झोलिलो खानेकुरा खाँदा निको हुने डाक्टर शेरबहादुर पुनको भनाइ छ ।
फ्लुले संक्रमण गरेपछि एक हप्तासम्म नछाड्ने भएकाले रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने, भिडभाडमा नजाने, जानै परे मास्क लगाउने, सार्वजनिक ठाउँमा गएका बेला अनावश्यक ठाउँमा नछुने, साबुनपानीले सफासँग हात धुने गर्नाले पनि रुघाखोकीबाट जोगिन सकिने उनको भनइ छ । तर सामान्य भनेर हेलचक्र्याइँ गर्दा स्वाइन फ्लु, हङकङ फ्लु पनि हुनसक्ने भएकाले उपचार गराएर आराम गर्न डाक्टरले सुझाव दिएका छन् ।