राजनीति

समाजवादी पार्टी सरकारबाट बाहिरिनु रिहर्सल मात्रै हो, ड्रामा अझै बाँकी छ – डा. भट्टराई

काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएका छन् । नेताद्वयले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव लगेपछि प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरिदिएका थिए।

यादवको प्रस्तावलाई लिएर प्रधानमन्त्री ओली र उनीबीच बैठकमा चर्काचर्की भएको थियो। यसपछि यादवले राजीनामा दिएका हुन्। 

२०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन एमाले-माओवादीबीच  भएको दुई बुँदे सहमतिका आधारमा आफू सरकारमा सहभागी भएको स्मरण गराउँदै उनले सहमति कार्यान्वयन नभएका कारण नैतिकताका आधारमा राजीनामा पत्र दिनुपरेको उल्लेख छ ।   

“नेपालको संविधानको कार्यान्वयनका चार वर्षको अनुभवको आधारमा संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रका मूल आधार र मान्यताहरुलाई अझ कारगर रुपमा कार्यान्वयन गर्ने र प्राविधिक रुपमासमेत परिस्कृत र सुधार गर्न नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरी संविधान संशोधनको मस्यौदा नेपाल सरकार समक्ष पेस गर्न संवैधानिक कानुनका विज्ञहरु रहेको एक् समिति गठन गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्तात पेस गर्न आवश्यक भएकोले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को अनुसूची १ को विषय ४२ बमोजिम यो प्रस्ताव पेस गरेको छु,” यादवले पेस गरेको प्रस्तावमा भनिएको छ । 

उनको प्रस्तावमा ख्यातिप्राप्त संविधान  सर्वोच्च अदालतका पूर्व न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र नेपाल कानुन आयोगका अध्यक्ष, उपाध्यक्ष, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तोकेका तीन जना संविधानविद् सदस्य तथा कानुन सचिवहरुमध्ये मन्त्रलयले तोकेको सचिव सदस्य सचिव रहने गरी विज्ञ समूह गठन गरिनुपर्ने उल्लेख छ । 

पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

“मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नुभई कामकाजको जिम्मेबारी दिनुभएकोमा नेपालको संविधान धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु,” मन्त्री राईको राजीनामा पत्रमा भनिएको छ, “सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।”

यो रिहर्सल मात्रै हो – डा. भट्टराई 

यसैबीच समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले पनि पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा (मंगलबार)को पार्टी निर्णयलाई रिहर्सल मात्रै रहेको बताएको छन् । उनले भोलि(बुधबार) ड्रामा देखाउने बताएका छन्। 

ड्रामा भनेर डा. भट्टराईके  केलाई संकेत गर्न खोजेका हुन् त्यो भने उनले खुलाएका छैनन्। उनले बुधबार २ बजे पत्रकार सम्मलेन गरेर यसबारे जानकारी गराउने बताएका छन् ।

सरकारबाट बाहिरिएपछि हाल  समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा चलिरहेको छ।