काठमाडौं । सोमबार नेपाल प्रहरीले काठमाडौंबाटै १२२ जना चिनियाँ नागरिक पक्राउ गर्यो । पक्राउ परेका चिनियाँ लामो समयदेखि अपार्टमेन्ट र होटलमा बस्दै आएका थिए ।
उनीहरू फरक–फरक समयमा नेपाल आएको र कतिपयको राहदानीसमेत नभेटिएको प्रहरीले जनाएको छ । नेपालमा यति ठूलो संख्यामा, त्यसमा पनि एकै देशका नागरिक पक्राउ परेको यो पहिलो घटना हो ।
नेपालमा बसेर गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले देशबाट निष्कासनकाे तयारी अघि बढाएको छ । पक्राउ परेका चिनियाँ नागरिकमाथि प्रारम्भिक अनुसन्धान सकिएपछि अध्यागमन कानुनअनुसार चीन सरकारसमक्ष बुझाउने तयारी थालेको छ ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘प्रहरीले सबै चिनियाँ नागरकिमाथि अनुसन्धान गरिरहेको छ। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ, कसको के कसुरमा संलग्नता छ भन्ने खुलेपछि आवश्यक प्रक्रिया पुर्याएर अध्यागमन कानुनअनुसार उनीहरुलाई चीन फिर्ता पठाउँछौं।’
यस विषयमा प्रहरीले नेपालस्थित चिनियाँ राजदूतावाससँग पनि परामर्श थालेको छ। केही साताअघि नै चीन सरकारले नेपालमा चीनविरोधी गतिविधिमा चिनियाँ गिरोह नै सक्रिय रहेको भन्दै कूटनीतिक माध्यममार्फत सरकारको ध्यानाकर्षण गराएको थियो।
गैरकानुनी रूपमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामदत्त जोशीले बताए । उनले भने, ‘‘पक्राउ परेकाहरू फरक–फरक समूहका छन् । ठूलो संख्यामा भएकाले कसको अपराध के–हो अहिले भन्न सकिने अवस्था छैन । अनुसन्धान जारी छ ।’’