राजनीति

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई सोधे- के `मेहन्दी´ बदलिइरहन्छ कपाल रहेसम्म ?

काठमाडौं । मंगलबार समाजवादी पार्टी सरकारबाट बाहिरिएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यङ्ग्य गरेका छन् । 

संविधान संशोधनको सर्तसहित सहभागी भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एव‌ं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको केहि समय पश्चात नै कांग्रेस प्रवक्ता शर्माले यादव लक्षित ट्वीट गरेका हुन् 

अध्यक्ष यादवले सरकारमा सहभागी भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्राप्त गरेको बहुमतलाई दुईतिहाइ पुर्‍याएको स्मरण गर्दै उनले ट्विटरमा लेखेका छन्, “संविधान संशोधन नभई सरकारमा नजाने, युवाले बगाएको रगतको अपमान नगर्ने, आफैंले खाएको शपथ भुलेर त्यो रगतलाई बहुमतको शिरमा दुईतिहाइको मेहन्दी बनाइदिने एकथरी आज ब्युँझिएका छन् ।”


कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कपाल रहेसम्म मेहन्दी बदलिरहने कि संविधान संशोधनको मुद्दालाई गम्भीरतापूर्वक लिने भन्दै प्रश्नसमेत गरेका छन् । “के मेहन्दी बदलिइरहन्छ कपाल रहेसम्म ?” प्रधानमन्त्री ओलीले प्रयोग गर्दै आएको ट्विटर ह्यान्डलमा मेन्सन गर्दै उनले प्रश्न गरेका छन्, “@Pm_Nepal मुद्दाको गम्भीरता बुझ्ने कि अर्का थरीको मेहन्दी खोज्ने ?”

सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली संविधान संशोधन प्रति सकारात्मक नभएपछि मन्त्री यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि पदबाट राजीनामा दिएका थिए ।

Bishwa Prakash शर्मा
@bishwaprakash77

1h

के `मेहन्दी´ बदलिइरहन्छ कपाल रहेसम्म ? `संविधान संशोधन नभई सरकारमा नजाने,युवाले बगाएको रगतको अपमान नगर्ने´l आफैंले खाएको `सपथ´ भुलेर त्यो रगतलाई बहुमतको शिरमा दुइतिहाईको मेहन्दी बनाइदिने एकथरी आज ब्युंझिएका छन् l

मुद्दाको गम्भीरता बुझ्ने कि अर्काथरिको मेहन्दी खोज्ने ?