बेरुत । सिरियामा रुसआवद्ध हवाई आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन्। देशको इद्लिब प्रान्तमा भएको सो आक्रमणमा परकम्तिमा पाँच बालबालिका मारिएका स्रोतले बतायो
यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन सर्वसाधारण मारिएको ‘सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्स’ले मङ्गलबार जानकारी दिएको छ।
सिरियाली सरकारको सहयोगका रुपमा रुसले विद्रोहीलाई लक्षित गरी सिरियाको विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु हुने गरेको छ।
सिरियामा सन् २०११ को मार्च महिनामा सिरियन राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो।
सन् २०११ देखि हालसम्म जारी यस आन्दोलनमा तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। लाखौ घाइते भएका छन्। दशौं लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्।