अन्तर्राष्ट्रिय

तीव्र गतिमा आगो फैलिदा १२० घर क्षतिग्रस्त

एजेन्सी । दक्षिण अमेरिकी देश चिलीको भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन् । सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ ।

आगोबाट असर नपरोस् भनेर  करिब ९० हजार ग्राहकको बिजुली काटिएको छ ।  भालपाराइसोका मेयर जोर्ग सार्पले सो आगो सुनियोजित रुपमा लगाइएको हुन सक्ने जनाएका छन् । आपतकालीन उद्धारकर्ताहरु अहिले त्यहाँ खटिइरहेको जनाइएको छ ।

मेयरले ठूलो हुरी चलेको र तापक्रम पनि बढी भएकाले आगलागी फैलिन मद्धत गरिरहेको बताएका छन् । आगलागीबाट करिब १२० हेक्टर क्षेत्रको घाँसे मैदान पहिला नै सखाप भएको छ ।  भाल्पाराइसो मध्य चिलीमा पर्दछ । यो क्षेत्र दक्षिण अमेरिकाको पर्यटक गन्तव्यको रुपमा समेत चिनिने गरेको छ । सो आगलागी जंगलबाट शुरु भएको जनाइएको छ ।