डडेल्धुरा । प्रदेश-७ अन्तर्गत डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएसँगै उक्त क्षेत्र तनावग्रस्त बनेको छ । मृतकको आफन्तले क्षतिपूर्तिको माग गर्दै भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध पारेर सडकमा टायर बालेर आन्दोलन चर्काएका छन् ।
बझाङतर्फ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ।
मंगलबार अमरगढी नगरपालिका–१, लिसा कम्पनीनजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा अमरगढी नगरपालिका–११, सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो ।
दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३, सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका बोहराको शव डडेल्धुरा अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । क्षतिपूर्ति दिने सहमति नभएपछि मृतकको शवको पोष्टमार्टम समेत हुन सकेको छैन ।
प्रहरी नायव उपरीक्षक दधिराम न्यापानेले चालक र सवारीधनीलाई मंलबार नै नियन्त्रणमा लिएको बताए ।