एजेन्सी । अमेरिकाले पाकिस्तानलाई धार्मिक मामिलाका हिसाबले कालोसूचीमा राखेको छ । अमेरिकाले यसो गरेकामा पाकिस्तानले भने गुनासो गरेको छ ।
जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् ।
पाकिस्तानले अमेरिकाको यस कदमप्रति कडा आपत्ति जनाएको छ । उसले अमेरिकाले पक्षपातपूर्ण रवैया अपनाएको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको यो सूची यथार्थभन्दा बाहिर भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता आयशा फारुकीले भारतले अल्पसंख्यकलाई पीडामा पारे पनि भारतलाई सो सूचीमा अमेरिकाले नराखेको जनाइन् । ‘अमेरिकी यो कदम यथार्थतासँग मेल खाँदैन । भारतमा अल्पसंख्यकलाई प्रताडित गरिन्छ, तर भारतलाई अमेरिकाले सूचीमा राखेको छैन । पूरै प्रक्रिया एकतर्फी र भेदभावपूर्ण छ’, उनले एक विज्ञप्ती जारी गर्दै भनेकी छिन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले १८ डिसेम्बर २०१९ मा सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिटि्रया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि परेका छन् । यी देशहरुलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कानूनअनुसार कालो सूचीमा राखिएको हो ।