राजनीति

राप्रपालाई वैकल्पिक शक्ति बनाएरै छोड्छु – अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराएरै छोड्ने बताएका छन् । बुधबार हेटौंडामा पार्टी जिल्ला समितिद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले मुकुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित प्रतिबद्धता जनाएका हुन् । 

अध्यक्ष  थापाले धर्म, संस्कृती र गौरवशाली पहिचानको रक्षा, संरक्षण र सम्बर्द्धनका साथ मुलुकलाई सबल र समृद्धिको मार्गमा डोर्‍याउदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे । 

आफ्नो धर्म, संस्कृती र पहिचानको पक्षमा बोल्दा कुनै हिनताबोध राख्नुपर्ने आवश्यक नरहेको भन्दै थापाले उच्च मनोबलका साथ पार्टीको फरक र मौलिक विचार जनता समक्ष लैजान कार्यकर्तालाई आग्रह गरे ।

मुलुकमा भ्रस्टाचार संस्थागत ढङ्गले अघि बढिरहेकोमा आक्रोश व्यक्त गर्दै उनले विकृती, विसंगती र ब्रम्हलुटविरुद्धमा जनता नजागे मुलुक धराशायी हुँदै जाने चिन्ता प्रकट गरे । 

ठूला-ठूला भ्रष्टाचार काण्डमा ठूला नेता र ठूला पार्टीको संलग्नता देखिनु विडम्बना भएको उनको भनाई थियो । एनसेल , बालुवाटार जग्गा, वाइडबडी, गोकर्ण रिसोर्ट, सुनकाण्डजस्ता जघन्य भ्रष्टाचार काण्डको जवाफ जनताले एकदिन खोज्‍ने थापाको विश्वास छ ।