काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकासँग गरिएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रिय हितको पक्षमा रहेको बताएका छन् । उनले एमसीसीको विरोध गर्नुको औचित्य नरहेको बताउँदै यसलाई पैसासँग तुलना गर्न नहुने बताए ।
राष्ट्रिय सरोकार तथा समन्वयन समितिको बैठकमा मन्त्री ज्ञवालीले भने, “यसलाई पैसासँग मात्र तुलना गर्ने होइन। यो सम्झौताले हाम्रो राष्ट्रिय हितलाई केही हानी गर्दैन।”
एमसीसीलाई इन्डोप्यासेफिक रणनीतिको अंगको रुपमा हेरिएको उल्लेख गर्दै उनले भने, “यसमा सामरिक स्वार्थ जोडिएको छैन। यसलाई इन्डोप्यासिफिक रणनीतिको कुनै पनि अंगका रूपमा हेर्नु हुँदैन। यो सम्बन्ध सैन्य गठबन्धनसँग जोडिएको छैन।”
उनले नेपालको आवश्यकताअनुसार नै सम्झौता भएको उल्लेख गर्दै भने, ‘हामीले अध्ययन गरेर उर्जा तथा सडकमा लगानी गर्दा उचित हुने भएपछि एमसीसीको सम्झौता गरिएको हो। नेपालकै अवस्थाका कारण यो एमसीसी सम्झौता ढिलो भएको हो।’
उनले यो योजनामा सबै पार्टीको सहमति रहेको बताउँदै भने, ‘सबै पार्टीको सहमतिको आवश्यकता ठहराएर नै संसदबाट त्यससम्बन्धी विधेयक पारित गर्ने प्रावधान राखिएको हो।’