समाचार

विविधताबीचको एकता साझा पहिचानः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको एकता नै नेपालीको साझा पहिचान भएको बताएका छन् ।

राष्ट्रिय क्रिश्चियन महासङ्घले क्रिसमस दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपराष्ट्रपति पुनले विविधताले भरिएको देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक परम्पराका साथै मिश्रित बसोबास रहेको बताउँदै विविधतायुक्त चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

नेपाली समाजमा रहेका फरक–फरक जाति र संस्कृतिले हाम्रो भातृत्व कायम राख्ने उनको भनाइ थियो । कुनै पनि धर्मको उद्देश्य भनेको शान्ति र समानताको खोजी नै भएको बताउँदै उनले धर्मका नाममा हिंसा गर्न नहुनेमा जोड दिएका छन् ।

उपराष्ट्रपति पुनले सबै धर्मावलम्बीले एकापसमा सबैका धर्म, संस्कृति र सहअस्तित्वलाई स्वीकार्नु आवश्यक रहेको उल्लेख गर्दै नास्तिक वा आस्तिक हुने विचार व्यक्तिको आत्मनिर्णयको अधिकार भएको बताए । 

नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले संविधानमा धर्मनिरपेक्ष लेखिएकाले क्रिश्चियनलगायत सबै धर्मावलम्बीले आ–आफ्नो परम्परालाई अभ्यास गर्न पाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता सत्या पहाडीले सामाजिक विविधताको अन्त्य गर्नका लागि धार्मिक परम्पराको महत्व हुने विचार व्यक्त गरेका थिए ।