बलेवा । मुख्य सडकमा हरिचौर बजार परेपछि गलकोट नगरपालिकादेखि तारा खोला जाने बाटोका लागि वैकल्पिक सडक निर्माण गरिएको छ । गत वर्षातमा मुख्यसडकमा दुई वटा पुल अभाव भएपछि नगरपालिकाले रु १६ लाख लगानी गरेर सडक खनेको हो । उक्त सडकका लागि स्थानीयले रु सात लाख लगानी गरेका छन् ।
वडा नं ५ र ६ जोड्ने राजाको पुल निर्माणाधीन छ । वर्षातमा यो पुल नभएपछि खोला तर्न मुस्किल थियो । हरिचौर बजारकै खहरे खोलामा पनि अस्थायी पुल भएकाले सवारीसाधन पार गर्न सकेका थिएनन् । त्यसैले नगरपालिकाले लगानी गरेर चार किमि वैकल्पिक सडक खोलिएको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । यो सडक खुल्दा तारा खोलातर्फ जाने सयौँ यात्रीले राहत पाएका थिए ।
अहिले पनि हरिचौर बजार भएर ठूला सवारी साधन छिर्न समस्या छ । हरिचौर बजारमा साँघुरो सडक भएकाले जीप मात्र चल्न सक्छन् । “ठूला ट्रक र निर्माण सामग्री लैजानु पर्दा सास्ती थियो, विकल्पको बाटोले धेरै राम्रो भयो”, गैह्रेले भने, “यो सडकलाई पनि दीर्घकालीन बनाउने हो ।” स्तरोन्नतिका लागि बजेट विनियोजन गरेर सहज यात्राको सडक बनाउने उनले बताए ।
हरिचौर बजारतर्फ पुरानो सडकमा धेरै घरको क्षति हुने भएपछि तारा खोला जाने सडकलाई उपल्लो बजार तर्फबाट ट्रयाक लैजाने तयारी छ । प्रदेश सरकारको बजेटमा यो सडकखण्डको स्तरोन्नति र कालोपत्रेसमेत गर्ने योजना छ । उक्त योजनाका लागि उपल्लो बजारको नमस्ते टोलबाट सिमलबोट हुँदै दरम खोलाको पुलमा जोड्ने योजनाको काम थालिएको हो । यो सडकले तारा खोला र गलकोट नगरपालिकाको मेरुदण्डको रुपमा काम गर्ने स्थानीयले बताए ।
गलकोट नगरपालिकाको विभिन्न स्थानमा पुग्ने सडकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत पनि लगानी भएको छ । तर, उक्त रकम भने कनिका छरेझै भएको भन्दै जनप्रतिनिधि र स्थानीयले टिप्पणी गरेका छन् । “एउटै निर्वाचन क्षेत्र भित्रको ढोरपाटन नगरपालिकाको तुलनामा गलकोट नगरमा ५० प्रतिशत कम रकम परेको छ, एक जनप्रतिनिधिले भने, “त्यसमा पनि धेरै योजनामा रकम छरिएको छ ।”
यसरी रकम छरिएपछि कतै पनि देखिने गरी काम गर्न नसकिने उनले बताए । गलकोट नगरपालिका–१ को दुदिलाभाटीदेखि टोड्के जाने सडकमा १५ लाख, कोट मैदान सडकलाई १० लाख, बरेखानी सडकमा १० लाख, हटिया लमही र रिघा जाने सडकलाई पनि रु १०/१० लाख विनियोजन भएको हो । गत वर्ष नगरपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ५० लाख गरी रु एक करोड मल्मदेखि रिघा जाने सडकको केही खण्ड सुधार गरिएको छ ।
चालू वर्ष बजेट अभावले काम रोकिएको छ । उक्त खण्डमा रु १० लाख मात्र परेकाले उक्त बजेटले सामान्य मर्मत गर्न पनि नसकिएको वडा नं ९ का अध्यक्ष त्रिलोक थापाले बताए । बजेट छरेरभन्दा एउटै काममा लगाएको भए पूर्णता पाउने नगरप्रमुख गैह्रेले बताए । तर नगरपालिकाले पनि आफ्नो बजेटबाट रिघा पुग्ने सडक, हरिचौर तर्फको सडक र आवश्यकताका स्थानमा थप लगानी गर्नेसमेत उनले जानकारी दिए ।
“विकल्प र छोटो बाटोबाट गन्तव्यमा पुग्न सकिने स्थानमा भने सबैले सामूहिक लगानी गर्न सकेमा छिटो काम पूरा हुने थियो”, गैह्रेले भने, “नगरपालिकाले एक्लै लगानी गर्न नसक्दा कतिपय सडकको सुधार हुन सकेको छैन ।” भैसेदेखि हरिचौर आउने सडक सुधार गरेर कालोपत्रे गर्न सकेमा हरिचौरका अधिकांश बासिन्दाले सडकको सुविधा महसुस गर्न पाउने उनले बताए । गलकोट नगरपालिकाले वडा तहका सडक सुधार गर्दै जोडेर चक्रपथको स्वरुप दिने योजना पनि बनाएको छ । त्यसको पहिलो चरणमा वडा नं १, २ र ३ जोड्ने खण्ड पूरा भइसकेको छ ।