काठमाडौं । पछिल्लो समय राजनीतिक वृतमा सीमा समस्या सुल्झाउन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रयत्न नपुगेको आलोचना भइरहेको छ ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कसैले एक इन्च भूमि मिचेको पनि नसहने बताएका छन् । हात्ती महोत्सव उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले नेपालले एक इन्च भूमि पनि नछाड्ने र अर्को भूमि दाबी पनि नगर्ने बताएका हुन् ।
“हामीलाई कसैको एक इन्च भूमि पनि चाहिँदैन । हाम्रो एक इन्च भूमि मिचेको पनि सहँदैनौं । नेपालीहरू राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा एकजुट छन् । हाम्रो आफ्नै मूल्य, मान्यता, मनोविज्ञान छ,” उनले भने ।
उनले परिवर्तनका लागि सबै एकजुट भए पनि विकासमा भने खुट्टा तानातान हुने हो कि भन्दै चिन्ता प्रकट गरे ।
“वस्तुगत परिस्थिति बनेको छ । यो परिस्थितिलाई आत्मगत तरिकाले सदुपयोग गर्नुपर्नेमा हामीले रचनात्मक पहल गर्न सकेका छैनौं । हामी अलि बढी नकारात्मक, अलि बढी ध्वंशात्मक हुन थालेको हो कि भन्ने देखिएको छ,” उनले सचेत गराए ।
“इतिहासले हामीलाई धेरै कुरा थियो । परिवर्तनका लागि एकजुट पनि भयौं । सबै तह र तप्काका जनताहरू एकजुट भयौं । गौरवशाली इतिहासको स्पर्श गरेर देशलाई आर्थिक विकासमा गति दिन नसक्ने हौं कि ?,” उनले संशय व्यक्त गरे ।
उनले नेपालीहरू अवसरको सङ्घारमा रहेको बताउँदै सदुपयोग गर्न पनि आग्रह गरे ।
“अबको दशक विकासको दशकमा बदल्नुपर्छ । भिजिट नेपाल २०२० नजिकिँदैछ । अहिले तुलनात्मकरूपमा विश्वभर राम्रो सन्देश गएको छ । नेपाल आर्थिक विकासको गतिमा छ भने स्वीकार गरेको अवस्था छ,” उनले भने ।