स्वास्थ्य

जान्नुहोस्, चुरोटसम्बन्धि विभिन्न जानकारीहरू..

एजेन्सी । हरकोही यस कुराको जानकार छ कि धुम्रपान स्वास्थ्यको हानिकारिक छ । यदद्पी स्वविवेकी र आजको समयको जुझारु प्राणी मानव धुवाँको दास बनिरहेकै छ । आफ्नो शरीर र अमुल्य जीवनको हरेक सर्कोसँग सम्झौता गर्दै मान्छेहरु यस दासताका लागि किस्ता किस्तामा आफूलाई मारिरहेका छन् ।

आज दुनियाँका धुवाँको दासतालाई सहर्स स्विकारीसकेकाहरू शुद्ध श्वास भर्ने फोक्सोलाई लङ क्याल्सीफिकेशन (Lung Calcification), बुलौस लङ डिजीज (Bullous Lung Disease) तथा प्लमनारी एम्फीसेमा (Pulmonary Emphysema) जस्ता रोगले प्रताडित बनाइरहेका छन् ।

एक अध्ययनका अनुसार संसारभर हरेक मिनेट १ करोड चुरोट बिक्री हुन्छ भने हरेक दिन १५ अरब भन्दा बढि कुल बिक्दछ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनकै कारणले हुनेगर्दछ ।

यदि यो क्रम नरोकिने हो भा ने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने विश्वव्यापी तथ्याङ्कगत पूर्वानुमान छ । यूद्ध, हिंसा, अपराध, आत्महत्या, दूर्घटना आदिजस्ता थुप्रै मृत्यूका कारणलाई लगभग दोब्बर पार्दा पनि धुम्रपानका कारणले हुने मृत्यूको सख्या भन्दा धेरै हुन सक्दैन ।

चुरोटको सम्बन्धि जानकारी :

  • सूर्तिलाई कागजमा बेरेर पहिलोपटक ब्राजिलियनहरुले चुरोट बनाएका थिए । क्रिस्टोफर कोलम्बसले क्विन इजाबेलाबाट सूर्तिका पात ल्याएका थिए ।
  • सन् १५५९ मा फ्रान्सका कुटनीतिज्ञ जाँ निकोटले घाउ, दम र क्यान्सर निको पार्छ भनेर पोर्चुगलबाट सुर्तीका बोट ल्याएका थिए । तर, यसले झन् उल्टो असर देखाउन थाल्यो । क्यान्सर जस्ता रोगको प्रमुख कारक बन्यो । सुर्तीमा पाइने निकोटिन नामक तत्व उनै कूटनीतिज्ञको नामबाट राखिएको हो ।
  • सन् १६०० मा अधिकांश देशले चुरोट सेवनलाई गैरकानुनी घोषणा गरेका थिए । टर्कीमा त सूर्तिजन्य पदार्थ प्रयोग गर्नेलाई यातना दिइन्थ्यो या मृत्युदण्ड दिइन्थ्यो । चीनमा टाउको काटेर हत्या गरिन्थ्यो ।
  • रुसमा दोस्रोपटक चुरोट सेवन गरेको फेला परे मृत्युदण्ड दिइन्थ्यो ।
  • एउटा चुरोटमा ४,८०० रासायनिक पदार्थ हुन्छ, जसमा ६० रसायनले क्यान्सर गराउँछन् ।
  • अमेरिकामा हरेक दिन ४ हजार किशोरले पहिलोपटक चुरोटको स्वाद लिने गरेको पाइएको छ भने एक व्यक्तिले बर्सेनी १,५०० देखि ३,३०० डलरसम्म धुम्रपानमा खर्च गर्छन् ।
  • धुम्रपानका कारण अमेरिकामा झण्डै ३ सय ३३ बिलियन डलर स्वास्थ्य सेवामा खर्च भइरहेको छ ।
  • अर्को व्यक्तिले गरेको धुम्रपानका कारण अमेरिकामा मात्र बर्षेनी ५० हजार जनाको मृत्यु हुने गरेको छ, भने धूमपानका कारण उक्त राष्ट्रमा हरेक वर्ष ४ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ ।
  • धुम्रपानले एक मानिसको आयु १३ वर्ष घटाउँछ, अझ एचआइभी संक्रमित छ भने धुम्रपानका कारण १६ वर्ष आयु घट्छ ।
  • धूमपानका कारण लाग्ने प्रमुख रोग क्यान्सर हो । त्यसमा पनि मुख्यतः फोक्सोको क्यान्सर । यसबाहेक ब्लाडर, रगत, बोन म्यारो, पेट, कोलोन, सर्भिक्स, मिर्गौला, कलेजो, मुख, घाँटीजस्ता क्यान्सर लाग्न सक्छन् ।
  • क्यान्सरबाहेक धुम्रपानले कोरोनरी हार्ट डिजिजको खतरा ४ सय प्रतिशतसम्म बढाउँछ ।
  • विश्वमा प्रतिमिनेट एक करोड चुरोट किनिन्छ र एकदिनमा एक अर्ब ५० करोड चुरोट बिक्री हुन्छ र वर्षमा ५ खर्ब खिल्ली चुरोट किनिन्छ ।
  • हरेक दिन विश्वमा १५ बिलियन चुरोट सल्काइन्छ ।
  • ६९ प्रतिशत धूमपानकर्ताहरुले तत्काल बानी छाड्न चाहन्छन् ।
  • विश्वका कूल धूमपानकर्तामध्ये एकतिहाई चिनियाँ छन् ।
  • वैज्ञानिकहरूका अनुसार धुमपानका कारण हुने ४८ प्रतिशत अल्पायुको मृत्यु क्यान्सर नभइ मुटु सम्बन्धी रोगहरूका कारण हुने गर्छ।
  • अनुसन्धानकर्ताहरूका अनुसार संयुक्त अधिराज्यमा चुरोट पिउने मानिसहरूको संख्या घटिरहेको छ तर दिनको एक खिल्लीदेखि पाँच खिल्ली सम्म चुरोट सेवन गर्ने मानिसहरूको अनुपात द्रुत गतिमा बढिरहेको छ।

चिनियाँ अस्पतालको भिडियो चर्चा

यसैबीच चीनको एक अस्पतालले सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो नियमित ३० वर्ष देखि धुम्रपान गर्दै आएका ५२ वर्षीय एक व्यक्तिको फोक्सोलाई देखाइएको छ । जहाँ फोक्सो रङ बिल्कुलै कालो देखिन्छ ।

चीनको झिएंगसुस्थित यूक्सी पिपुल्स अस्पतालले सार्वजनिक गरेको उक्त भिडियोमा डा.चेन झिएंगु र उनको ट्रान्सप्लान्ट टिम फोक्सोको जाँच गरिरहेको देख्न सकिन्छ । उक्त फोक्सो ५२ वर्षीय व्य्कतिले दान गरेका हुन् ।

डा. चेनले  बेलायती सञ्चार माध्यम  मिररलाई बताएअनुसार- जुन व्यक्तिले उक्त फोक्सो दान गरेका हुन्, उनको ब्रेन डेड भइसकेको छ । तर उनले जब उनको फोक्सोको अवस्था नियाले तब उनले यसप्रकारको फोक्सो कुनै पनि बिरामीको शरीरमा ट्रान्सप्लान्ट गर्न नसकिने अवस्थामा रहेको स्वीकारे । डा. चेनले थपे- यसैकारण हाम्रो टिमले यस फोक्सोको ट्रान्सप्लान्ट गर्न रिजेक्ट  गरेको हो ।’

नेपालमा चुरोट पिउनेहरूको संख्या :

नेपालका २८ दशमलव ९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वे)ले देखाएको छ। सर्वेक्षणले महिलाको तुलनामा पुरुषहरु ५ गुणाभन्दा बढी अम्मली रहेको देखाएको छ। सर्वेक्षण अनुसार नेपालका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्छन्।

कुन प्रदेशमा कति?

प्रदेश १ – २२ दशमलव ८ प्रतिशत
प्रदेश २ – २९ दशमलव ७ प्रतिशत
प्रदेश ३ – २२ दशमलव २ प्रतिशत
गण्डकी प्रदेश – २५ दशमलव ९ प्रतिशत
प्रदेश ५ – ३६ दशमलव ६ प्रतिशत
कर्णाली प्रदेश – २९ दशमलव ७ प्रतिशत
सुदूरपश्चिम प्रदेश – ३३ दशमलव ८ प्रतिशत

रक्सी भन्दा चुरोट खतरनाक :

एक हप्तामा महिलाले १० वटा र पुरुषले पाँचवटा चुरोट पिउनु र एक हप्तामा ७ सय ५० मिलिलिटर रक्सी पिउनु क्यान्सरका लागि उति नै खतरापूर्ण रहेको एक अध्ययनले जनाएको छ।

ब्रिटेनका शोधकर्ताले गरेको अध्ययनमा थोरै रक्सी पिउनु भन्दा चुरोट पिउनु बढी खतरापूर्ण हुने र यसबाट क्यान्सरको खतरा बढी हुने कुरा सार्वजनिक भएको छ। यस्तो जोखिमलाई कम गर्ने एकमात्र तरिका पूर्णरुपमा चुरोट छोड्नु नै हो।