राजनीति

“कुनै दल आएको थियो, निस्क्यो; उनीहरुले छाड्दैमा सरकार ढल्ने होइन”- मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा सरकारले विश्वासको मत लिन आवश्यक नपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले सरकारसँग स्पष्ट बहुमत यथावत रहेका कारण समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन आवश्यक नपर्ने जिकिर गरे । 

मन्त्री बाँस्कोटाले भने- “प्रधानमन्त्री २०७४ फागुन ३ गते निर्वाचित हुनुभयो, सो सत्ता साझेदार थिए उनीहरु पछि सामेल भएका हुन् । उनीहरुले छाड्दैमा सरकार ढल्ने पनि होइन । संवैधानिक हिसाबले लिनुपरे पनि त्यो कुनै महाभारतको विषय होइन, दश मिनेट लाग्ला ।”

सरकारका प्रवक्ता बास्कोटाले नेपालको कानुनले विश्वासको मत लिनुपर्ने भने पनि आफूहरुका लागि उक्त प्रक्रियामा जानु कुनै महाभारत नभएको पनि बताए । “कुनै दल आएको थियो, निस्क्यो । प्रधानमन्त्रीको साथमा भएको बहुमत कायमै छ,” उनले भने, “त्यो सो भए पछि यो (विश्वासको मत) विषय आफै टुंगो लगाउनुस् । लिनु परे पनि लिँदा के हुन्छ ।”