मनोरञ्जन

भारतीय गायिका भोस्ले रेडियो नेपालमा

काठमाडौँ । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन बुधबार नेपाल आएकी भारतीय चर्चित गायिका आशा भोस्लेले आज रेडियो नेपाल पुगी ‘रिहर्सल’ गरेकी छन् । उनले आफूले स्वर दिएका विभिन्न नेपाली गीतमा रिहर्सल गरिन् । उनलाई रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटा र अन्य कर्मचारीले स्वागत गरेको थियो । साधना कला केन्द्रको निमन्त्रणमा भोस्ले नेपाल आएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोस्लेले शुक्रबार भेट गर्ने कार्यक्रम रहेको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । “उहाँले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ”, मोक्तानले भने, “यस्तै नै शुक्रबार माइती नेपाल र नारायणहिटी सङ्ग्रहालयको पनि अवलोकन गर्दै हुनुहुन्छ ।”

भोस्लेले शनिबार हुने साङ्गीतिक कार्यक्रममा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायतका आफूले स्वर दिएका अन्य गीत गाउने छिन् । उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने छन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएको छ ।