काठमाडौं । हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखंडन तर्फ धकेलिन सक्ने बताएका छन् । अध्यक्ष पटेलले विदेशी मुलुकको इशारामा भइरहेको धर्म परिवर्तनको कार्य चिन्ताजनक रहेकोले यसलाई नियंत्रण गर्नु पर्ने धारणा राखे ।
‘राष्ट्रीयता, समृद्धि, विकाश, एकता, पहिचान सहित शासन व्यवस्था जे होस, नेपाल हिन्दू राष्ट्र हुनुपर्छ’ मूल नाराका साथ विहिवार रौतहटको सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लब नेपालको सभाहलमा भएको जन जागरण सभामा सम्वोधन गर्दै नेपालमा सनातन धर्मको रक्षा एवं हिन्दू धर्मको स्थापनाको निमित्त हिन्दू परिषद् नेपालको स्थापना गरिएको बताए ।
अध्यक्ष पटेलले आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न षणयन्त्र गरी रहेकोले हिन्दू धर्मालम्वीहरुलाइ एक ठाउँमा आउनुको विकल्प नरहेको जिकिर गरे। गाउँगाउँमा क्रिश्चियन धर्मको प्रचार गर्नेलाइ लखेट्नु पर्ने बताउँदै हिन्दू धर्मको रक्षाको लागि नेपाल हिन्दू राष्ट्र घोषणा हुनु पर्ने माग गरे ।
विश्वमा एक मात्र हिन्दू राष्ट्रको पहिचान नेपाल रहेकोले राजनितिक आडमा सो पहिचान समाप्त पारिएको जिकिर गर्दै अध्यक्ष पटेलले नेपाललाइ हिन्दू राष्ट्रको पहिचान जोगाउनलाइ हिन्दू परिषद् नेपालमा आवद्ध भएर अघि बढ्न युवाहरुलाइ आग्रह गरे ।
ओमप्रकाश साहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विनोद उपाध्यायको अध्यक्षतामा २१ सदस्य गौर नगर कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा जगत लाल साह, कोषाध्यक्षमा विनोद यादव, सह कोषाध्यक्षमा हरेश पटेल, सचिवमा धीरज पटेल, सह सचिवमा नीरज रिजाल सदस्यमा प्रभु नारायण तिवारी, अर्जुन साह, महिन्द्र साह, संजय यादव, प्रमोद पटेल लगायतका रहेका छन ।
वरिष्ठ सलाहकारमा मोसाफिर राय यादव चयन भएको जिल्ला कार्य समितिले जनाएको छ । भेलाबाट राजपुर नगरपालिकाको इन्चार्जमा मुकेश साह, ईशनाथ नगरपालिकाको इन्चार्जमा विनोद यादव, दुर्गा भगवती गाउँपालिकाको इन्चार्जमा मनोज कुमार यादव र यमुनामाई गाउँपालिकाको इन्चार्जमा विबेक कुमार साह छनौट गरिएको जिल्ला संयोजक ओमप्रकाश साह मधेशियाले जनाएका छन ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमन्यु पटेल, समाजसेवी नविन कुमार सिंह, संचारकर्मी राकेश यादव, सत्येन्द्र प्रताप सिंह, देव बचत तथा सहकारी सस्था लिमिटेडका अध्यक्ष लालविहारी साह, राष्ट्रिय चिंतन परिवारका अशोक कुमार सिंह राजपूत लगायतका उपस्थति रहेको थियो ।