काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको आलोचना गरेका छन् । आफैंले बनाएको ऐन नियम पालना गराउन नसकेको भन्दै उनले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् ।
आज(शुक्रबार) राजधानीमा आयोजित पारिवारिक निजी वन संघ नेपालको दोश्रो संघीय महाधिवेशनमा बोल्दै नेता नेपालले जग्गा अतिक्रमण गर्ने, भ्रष्टाचारजन्य गतिविधिलाई सरकारले नियन्त्रण गर्न नसकेको बताएका हुन् ।
‘जनताको विश्वास कायम गर्न सरकारले जनहितमा काम गर्नुपर्छ,’ नेता नेपालले भने, ‘गुठीको होस्, बालुवाटार वा नेपाल ट्रष्टको नाममा होस्, सार्वजनिक जग्गा कसैले हडप्छ वा अवैध बाटोबाट फाइदा लिन्छ भने त्यस्तालाई कारबाही गर्न सरकार डटेर लाग्नुपर्छ ।’
अहिलेकै गतिविधि कायम गरे सरकारलाई जनताले विश्वास नगर्ने नेता नेपालको भनाइ छ । ‘सरकार शक्तिशाली छ, यतिबेला माफियासँग मिलेमतो गर्नेलाई सजाय दिन उपयुक्त समय छ,’ नेता नेपालले भने ।