राजनीति

महाधिवेशनको कार्यतालिकामा सहमति नभएसम्म  बैठकमा सहभागी हुन्नौः बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक अस्विकार गर्दै आएको छ । पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म  बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

आज(शुक्रबार) चाक्सीबारीस्थित पौडेल समूहका वार्ता टोली सं‌योजक प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहले प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको एक नेताले बताए ।

महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग गठनबारे विभिन्न विकल्पमा छलफल भए पनि सहमति हुन नसकेको वार्ता समितिका सदस्यहरुले बताएका छन् ।

पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने, विधानअनुसार २८ वटा मात्र विभाग बनाउनुपर्ने र त्यसमा आधा हिस्सा आफूहरुले पाउनुपर्ने माग राखेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्ष आफूले नियुक्त गर्ने र चार महामन्त्री राखेर चारै समूहबाट एक/एक जना मनोनित गर्ने प्रस्ताव पनि पौडेल समूहले मानेको छैन ।

पौडेल समूहको बहिस्कारका कारण केन्द्रीय कार्यसमिति बैठक लगातार स्थगित भएको छ ।