काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेल समूहले बहिस्कारका बीच केन्द्रीय कार्यसमिति बैठक राखेर निर्णय प्रक्रिया अघि बढाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन् । चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन् ।
विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन् । महाधिवेशन गर्न र संक्रमणकालको अवस्थालाई हेरेर कार्यकाल एक वर्ष थपिएको हो ।
पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म सम्पन्न गर्ने गरी कार्यतालिका पारित, विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको स्रोतले बतायो ।
केन्द्रीय समितिले सभापति देउवाले गरेको प्रस्तावअनुसार नै भातृ संस्था नेपाल तरूण दलको म्याद छ महिना थप्ने निर्णय समेत गरेको छ । जितजंग बस्नेत नेतृत्वको तरूण दलको म्याद गत कात्तिकमा सकिएको थियो। ९५ सदस्यीय हुनुपर्ने तरूण दल केन्द्रीय समितिमा चार जना मात्रै छन्।
बैठकमा वरिष्ठ पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुको सहभागिता थिएन । महाधिवेशनको कार्यतालिकासहित विभाग र पार्टीका भ्रातृसंस्थाको विषयमा सहमति गरेर बैठकको सहज सञ्चालनका लागि काँग्रेसमा वार्ता टोली बनाएर दुई सातादेखि निरन्तर छलफल हुँदै आएको थिए ।
उक्त विषयमा प्याकेजमा सहमति जुटाउन देउवा पक्षले उसभापति विमलेन्द्र निधि र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय हृदयराम थानी र दिलेन्द्र बडू सदस्य रहेको वार्ता टोली बनाएको छ । तर दुई सातासम्म पनि सहमतिको मिलन विन्दुमा पुग्न नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय लिएको हुन् ।