चितवन । जिल्लाको राप्ती नगरपालिका वडा नं. १ को लोथरदेखि वडा नं. ११ थाकलटार जोड्ने सडक निर्माण निर्माण हुने भएको छ । पुर्वअर्थमन्त्री तथा संघीय सांसद सुरेन्द्र पाण्डेले सांसद विकास कोषमार्फत विनियोजन गरेको ५० लाख बजेटबाट सो सडकको ट्र्याक खोल्नका लागी काम शुरु भएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच पुर्वअर्थमन्त्री पाण्डेले सो सडकको शिलान्यास गरेका छन् । कार्यक्रममा पाण्डेले विकास निर्माणको काममा ढिलासुस्ति नगर्न र अत्यन्त पारदर्शी ढंगबाट काम सम्पन्न गर्न निर्देशन दिए ।
उनले बिकासको सुरुवात सडकबाटै हुने बताउदै आफुले हरेक क्षेत्रमा सडक निर्माणको लागी जोड दिँदै आएको उल्लेख गरे । पर्यटनको प्रचुर सम्भावना बोकेको राप्ती नगरपालिकामा सडक निर्माणका कामहरु द्रुत गतिमा हुनुपर्ने र सौराहासँग जोडेर पर्यटन रुट तयार गर्न पहल गर्नुपर्ने उनको भनाई छ ।
हरेक नागारिकको आर्थिक स्तरोन्नतिका लागि पर्यटन, कृषि तथा पुर्वाधार बिकासमा जोड दिन स्थातिय तहले ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा नेकपा जिल्ल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्ण खनालले आफ्नो गाँउको नेता आफै हुनुपर्ने बताउदै हरेक बिकास निर्माणमा स्थानीयको सहभागिता हुनुपर्ने बताए । नेकपा राप्ती नगरपालिका इन्चार्ज तथा नगरपालिकका उपमेयर इमानसिहं लामाले व्यक्तिगत स्वार्थका लागि कसैले काम नगर्न आग्रह गरे ।
विकास निर्माणका लागि विभिन्न समितिहरु निर्माण गर्दा सबै क्षेत्रको पतिनिधित्व गराई पारदर्शी ढंगले काम गर्न उनले आग्रह गरे । कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु घनश्याम कँडेल, रामजी कँडेल, राप्ती नगर इन्चार्ज मान बहादुर स्यांबो, विभिन्न वडाअध्यक्षहरु लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सडकले राप्ती १ को लोथरदेखि राप्ती ११ को थाकलटारलाई सिधा जोड्नेछ । लोथरदेखि परेवाकोटको वैद्यपानीसम्म सडक निर्माण भइसकेको छ भने बाँकी हालको बजेटबाट थप साढे ८ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिने राप्ती १ का वडाअध्यक्ष सिद्दिलाल स्यांतनले जानकारी दिए ।