अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा एक्काईस लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राती तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ । उक्त कारबाहीको क्रममा तालिबानी लडाकूका प्रान्तीय गभर्नर जैन अलाबिदिनसहित २१ लडाकू मारिएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा परी अन्य पाँच तालिबानी लडाकू घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । जारी वक्तव्यमा लडाकूविरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको जानकारी दिइएको छ । सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन ।

लाघमान प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ ।