राजनीति

‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो, यो पास हुन्छ’- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं ।  मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो ।

यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सम्पन्न पनि गरियो । तर त्यही बेला काठमाडौंस्थित अमेरिकी दूताबासका अधिकारीले एमसीसी, इण्डो प्यासिफिककै अंग भएको अभिव्यक्ति दिए ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी सम्झौता संसदबाट पास हुने बताएका छन् । नेकपाले के गर्छ भन्ने प्रश्न उठिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने सम्झौता पास हुने बताएका हुन् । 

अब  ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उनले भने, ‘यो पास हुन्छ, सरकार प्रष्ट छ ।’, उनले भने ।

तर अमेरिकी अधिकारीले त एमसीसी, इण्डो प्यासिफिककै अंग भएको बताएका छन् नि भन्ने प्रश्नमा उनले नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्ने बताए । उनले अघि भने, ‘पछि ककसले केके जोडे, मतलब हुँदैन । सही गर्दा के छ भन्ने हेर्नुपर्छ ।’