पर्यटन/संस्कृति

भ्रमण वर्ष उदघाटनः काठमाडौंका कुन– कुन सडकमा सवारी आवगमन प्रभावित ? हेर्नुहोस् यस्तो छ !

काठमाडौं । आजदेखी भ्रमण वर्ष २०२० सुरु हुने भएको छ । भ्रमण वर्षको सम्पुर्ण तयारी पुरा भएको पर्यटनमन्त्रीको दावी छ यद्यपी पुरा तयारी नभएको देखिएको छ ।

भ्रमण वर्षको आज उदघाटन गरिने भएको छ जस्को उदघाटन राष्ट्रपती विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । आज अपरान्ह ४ बजे दशरथ रंगशालाका उद्घाटनको कार्यक्रम आयोजना गरिने भएको छ । उदघाटन कार्यक्रममा आमन्त्रण गरिएका विदेशी पाहुना हिजो नै काठमाडौंमा आईपुगेको बताईएको छ ।

यस्तै आजै दिउँसो कार्यक्रमको उदघाटन अघि विभिन्न झाँकि सहीत काठमडौंका सडकमा र्याली निकालिने भएको छ । र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन आज दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले रंगशालाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने बताएका छन् ।

श्रेष्ठका अनुसार, २ बजेपछि ठमेललगायत क्षेत्रबाट र्‍याली निकालिने भएको छ । जसका कारण थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ । त्यसैले वैकल्पिक रुट प्रयोग गरेर यात्रा गर्न उनले सर्वसाधारणलाई सुझाएका छन् ।

‘ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न सिफारिस गरेका छौ‌ं’, एसपी श्रेष्ठले भने, ‘हामीले सिफारिस गरेको रूट प्रयोग भएमा सवारी आवागमन कम प्रभावित हुनेछ ।’

उदघाटन कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुना सहभागी हुने हुँदा पार्किङको समस्या केही कठिन हुने ठानिएको छ । यद्यपि, ट्राफिक प्रहरीले विभिन्न खाली स्थान पाहुना चढ्ने सवारीको पार्किङका लागि व्यवस्था गरिएको जनाएको छ ।

एसपी श्रेष्ठका अनुसार, टुँडिखेलसँगै आर्मी क्लबभित्रको खाली भाग, विश्वनिकेतन स्कुल, रंगशालाको पछिल्लो भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । विदेशी पाहुना चढ्ने गाडी रंगशालाको पछाडितर्फको भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।