सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटन प्रर्वद्धनका लागि आफ्नो छुट्टै नारा (स्लोगन) र लोगो तयार गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक प्रतिस्पर्धामार्फत नारासहितको लोगो तयार गरेको हो ।
बुलबुलेमा आयोजित भ्रमणवर्ष शुभारम्भ समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज उक्त लोगो सार्वजनिक गरे । ‘यसपाली घुमौँं कर्णाली’ (इट्स टाइम फर कर्णाली) नारासहित निर्माण गरिएको लोगोमा काँक्रेविहार, गुम्बा, कर्णाली नदी, राराताल, यार्सागुम्बा, पर्यटक र हिमाल समेटिएको छ । वीरेन्द्रनगर, ८ खजुरा सुर्खेतका गणेश आचार्यले उक्त लोगो बनाएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख राजेन्द्रकुमार वासुकलाको संयोजकत्वमा विषय विज्ञसहितको मूल्याङ्कन समितिले १३ आवेदनमध्ये उक्त लोगो छनोट गरेको हो । मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले उक्त लोगोलाई लकेट, स्टिकर, लेटरप्याड, कोसेलीलगायतका प्रयोजनमा प्रयोग गरिने बताए । कर्णालीको छुटै लोगोले पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा टेवा पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।