समाचार

सरकारलाई बद्नाम गर्न नागरिकलाई उचाल्ने काम हुँदैछ- मन्त्री बाँस्कोटा

काठमाडौं । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सरकारलाई बद्नाम गर्न, नागरिकलाई उचाल्न विधेयकबारे फोस्रो प्रचार गरिएको उनले बताए । बिहीवार मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता गर्नुपर्ने भनेर भ्रम फैलाइएको बताए । उनले भने, ‘यसमा म ठाडै खारेज गर्छु ।’ उनले अघि भने, ‘दर्ता आम प्रयोगकर्ताले होइन, जसले सामाजिक सञ्जाल चलाउँछु भन्छ, त्यसले गर्नुपर्छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर पनि झुटो प्रचार भएको बताए । ‘त्यहाँ निरन्तर भन्ने शब्द लुकाइएको छ’ उनले भने ।निरन्तर भयो भने नियतसँग जोडिने भएकाले त्यसलाई दण्डनीय बनाउनु परेको उनको जिकिर थियो ।