बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिने भएका छन् ।
आयोजक गलकोट कला प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी २०५ जना मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, इन्द्र खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् । यस्तै जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जीवियर्स गोँजालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेल कार्यशालामा सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यशालामा सहभागिताको लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । “आवेदन दिने २०५ जनामध्ये स्वतन्त्र छनोट समितिबाट ११ देशका १५ जना मूर्तिकार छानिए”, प्रतिष्ठानका अध्यक्ष रानाले भने ।
अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताउनुभयो । गलकोटमै जन्मनुभएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशालाले मूर्त रुप लिन लागेको हो ।
“विदेशबाट कलाकार आउनलाई टिकटसमेत निश्चित भइसक्यो”, संयोजक खत्रीले भने, “हामी सबै फागुन ४ गते नै कार्यशालास्थलमा पुग्छौँ, ५ गते औपचारिक शुभारम्भ हुन्छ ।” कार्यशालामा सहभागी हुने मूर्तिकारलाई फागुन १३ गते गलकोटका पर्यटकीयस्थल भ्रमण गराइने उनको भनाइ छ । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघि देखि नै शुरु भएको थियो ।
खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अन्तिम चरणमा पुगेको छ । “मूर्ति बनाउन योग्य ढुङ्गाको खोजी र सङ्कलन पनि भइसकेको छ”, प्रतिष्ठानका अध्यक्ष रानाले भने । कार्यशालाका लागि दुई टनभन्दा ठूला १५ वटा ढुङ्गाको जोहो गरिएको हो । पूर्वाधार तयारीका काममा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो ।
पर्यटन मन्त्रालयमार्फत बजेट आएपछि कामले गति लिएको हो । अघिल्लो वर्ष नै कार्यशाला गर्ने भनिए पनि बजेट अभावमा ढिलाइ भएको थियो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आवमा रु तीन लाख बजेट छुट्टाएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको छ ।
कार्यशाला सम्पन्न गर्न थप रु एक करोड ४१ लाख बजेट लाग्ने आयोजकको अनुमान छ । यो वर्ष गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ ।
स्थानीयवासी पूर्ण काउचाले रु पाँच लाखसहित अन्य व्यक्तिले आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वाधार र कार्यशाला सञ्चालनमा कूल रु तीन करोड खर्च हुने जनाइएको छ । रु डेढ करोड कार्यशालामा मात्र खर्च हुनेछ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ ।
कार्यशालास्थल निर्माणका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क रुपमा प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । अन्तर्राष्ट्रियस्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।
मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ । बुधबारदेखि शुरु भएको भम्रण वर्ष–२०२० लाई पनि कार्यशालाले टेवा पु¥याउने विश्वास लिइएको छ । “देश विदेशका मूर्तिकारका अमूल्य कलाकृतिहरु सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, प्रतिष्ठानका अध्यक्ष रानाले भने ।
कार्यशालास्थल टेउवा पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५५ किमि मोटर यात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायत आसपासका पर्यटकीयस्थल घुम्न सक्छन् ।