चिप्लेढुङ्गा । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले वडामै मेलमिलाप केन्द्र स्थापना गरेको छ । महानगरको वडा नं १ बाट सो केन्द्रको शुरुआत गरिएको हो । पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलापमार्फत समाजमा सद्भाव कायम हुने बताउँदै वडा तहका विवाद समाधानमा सहजता ल्याउन ११ वटै तहमा केन्द्र स्थापना गरिने जानकारी दिइन् ।
मेलमिलापकर्ता न्यायिक समितिकै अङ्ग भएको बताउँदै पक्ष–विपक्ष दुवैलाई सहमतिमा ल्याएर विवाद समाधान गर्नुपर्ने उनको भनाइ थियो । उनले मेलमिलापकर्ताको भूमिका स्थानीय सरकार सञ्चालन ऐन र महानगर न्यायिक समितिको कार्यविधिमा रहेर मेलमिलाप गराउन आग्रह गरे ।
उपप्रमुख गुरुङले न्यायिक समितिले १३ विवाद फैसला गर्न पाउने र ११ विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था रहेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकारबारे जानकारी दिइएकी थिइन् । गुरुङले वडा तहमै विवाद समाधान हुँदा अदालती झन्झट, आर्थिकको बचत, सामाजिक सद्भाव र पक्ष विपक्ष दुवैले जित्ने भएकाले मेलमिलाप उत्तम उपाय भएको बताइन ।
न्यायिक समिति सदस्य पार्वती कार्कीले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेका व्यवस्थामा टेकेर न्यायिक समितिले काम गर्ने बताइन । वडा नं १ का अध्यक्ष शारदाकुमारी पराजुलीले वडामा हुने विवाद समाधानमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् ।
पोखरा महानगरपालिकाको न्यायिक समिति गत वर्ष पहिलो चरणमा १० वडामा न्यायिक समिति गठन गर्ने कार्य सम्पन्न गरेको थियो । दोस्रो चरणअन्तर्गत अब महानगरका सबै वडामा केन्द्र स्थापना गरिने न्यायिक समिति सदस्य किशोर बरालले बताए ।