काठमाडौंँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका २१ हजार ६०० गुनासो सम्बोधन गरेको छ । प्राधिकरण कार्यकारी समितिको आजको बैठकले २१ हजार ६०० गुनासोको नतिजा निकालेको हो । निर्णयअनुसार ८४१ पुनःनिर्माण लाभग्राही कायम भएको छ भने ८३६ भूकम्पपीडित प्रवलीकरण लाभग्राहीमा सूचीकृत भएका छन् । त्यस्तै १८ हजार २०० गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
“स्थलगतरुपमा प्राप्त तथ्याङ्कलाई प्राधिकरणले तोकेको मापदण्डका आधारमा विश्लेषण गरी पुनःनिर्माण, प्रवलीकरण लाभग्राही वा गैरलाभग्राही कायम गर्ने गरिएको छ”, उनले भने । यसअघि तीनपटक बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले एक लाख १३ हजार गुनासो सम्बोधन गरी नतिजा निकालेको थियो । त्यसमा ११ हजार ५९९ गुनासोकर्ता पुनःनिर्माण लाभग्राही र पाँच हजार ६८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।
दोस्रो चरणको छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत एक लाख ८९ हजार गुनासो सङ्कलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इञ्जिनीयरले विश्लेषण गरिरहेको प्राधिकरणले जनाएको छ । विश्लेषण सकिएपछि ती गुनासो पनि प्राधिकरणले सम्बोधन गर्नेछ । गुनासो विश्लेषणका लागि ५० इञ्जिनीयर परिचालन गरिएको छ ।
दोस्रो चरणको छुट तथा पुनःजाँचअघि तीन लाख छ हजार ८५८ गुनासो दर्ता भएका थिए । ती सबैको पुनरावलोकन भइसकेको छ । प्राधिकरणले गरेको निर्णयमा चित्त नबुझे गुनासोकर्ताले पुनरावेदन समितिमा उजुरी गर्न सक्ने व्यवस्था छ । प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयउपर चित्त नबुझेर पुनरावेदन समितिमा निवेदन दिएका एक हजार ५२० उजुरीको पुनरावेदनमा समितिले फैसला गरिसकेको छ ।