अन्तर्राष्ट्रिय

पाकिस्तानका विदेशमन्त्री इरान र साउदी अरेबियाको भ्रमणमा

एजेन्सी । अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानी मारिएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा गएका छन् । पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने दशकौंसम्मको प्रयास जारी राखेको छ ।
इराकमा ६२ वर्षीय जनरलको हवाई आक्रमणमा मृत्युपछि इरानले क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसालेको थियो । जहाजमा सवार १७६ व्यक्तिको मृत्यु भएपछि इरानले गल्ती स्वीकारेको छ ।

हालै विकास भएका घटनाक्रमले शान्ति र सुरक्षाको अवस्था खतरामा पर्छ र शान्तिपूर्ण समाधानका लागि तत्काल र सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ– पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । शाह मेहमूद कुरेशीले इरानलाई “राजनीतिक र कूटनीतिक माध्यमबाट मतभेद र विवाद सुल्झाउनका लागि सबै प्रयासलाई समर्थन गर्ने पाकिस्तानको तयारीबारे इरानलाई बताउनेछ“ भनिएको छ ।

इरानी समकक्षी मोहम्मद जाभेद जारिफलाई भेटेपछि कुरेशीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग वार्ता गर्न जनवरी १३ मा साउदी अरेबिया भ्रमण गर्न लागेका हुन् । पाकिस्तानी विदेशमन्त्रीले तेहरान र रियादको भ्रमणपछि अमेरिका जाने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

गत वर्ष पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबिया र इरान बिचका प्रतिद्वन्द्वीहरु बीचको सम्बन्ध शान्त पार्ने प्रयास गरेको थियो ।