समाचार

नेकपा र नेपाली कांग्रेस भाइ-भाइ हो, दाजुभाइ होइन- मन्त्री बाँस्कोटा

काठमाडौं । सरकारको प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणको प्रश्नमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस भाइ-भाइ भएको उल्लेख गरेका छन् । 

आज(बिहिबार) मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले देश निर्माणको प्रश्नमा नेकपा र कांग्रेस भाइभाइ भएको उल्लेख गरेका हुन् ।

देश निर्माणको सवालमा सबै दलहरु एक ठाउँमा आउनुपर्ने चाहना सरकारले राखेको उनले बताए । “देश निर्माणको प्रश्नमा नेकपा – नेका भाइभाइ नै हो । मैले दाइभाइ कसैलाई भनिन्,” उनले पत्रकारको जिज्ञासामा भने, “राप्रपा पनि त्यसमा पर्छ । अरु मधेश केन्द्रित दलहरु पनि त्यसमा पर्छन । हामीले चाहेको यही हो ।”