पु.समाचार

माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने

काठमाडौं । नेपाल–प्रज्ञा प्रतिष्ठान र युवा परिषद्को आयोजनामा माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने भएको छ । महोत्सवमा सातै प्रदेशबाट युवा गजलकारहरूको सहभागिता रहने छ । अग्रज गजलकार अतिथिका रूपमा सहभागी हुने छन् ।

उद्घाटन सत्रमा करीब एक हजार ४०० जना गजलप्रेमीको र गोष्ठी सत्रमा ३०० गजलकार, गजलविज्ञ र समीक्षकहरूको सहभागिता रहने प्राज्ञ डा देवी नेपालले जानकारी दिए । महोत्सवका लागि ५५ सदस्यीय तयारी समिति गठन गरिएको छ । तयारी समितिको विस्तारित बैठकबाट कार्यक्रमको स्वरूप तयार पारिएको छ ।

कार्यक्रमको तयारीका लागि समितिका सबै सदस्य सक्रिय भइसकेको नेपालले बताए । महोत्सवमा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा आधुनिक नेपाली गजल र प्रज्ञा नेपाली बालगजल दुई कृतिको विमोचन गर्ने कार्यक्रम रहेको छ । सातै प्रदेशका गजलकारहरूको गजलवाचन, वरिष्ठ गायकबाट गजलगायन, गजलसम्बन्धी कार्यपत्रको प्रस्तुति गरिने छ । गजलसम्बन्धी बहस, गजलसम्बन्धी सातै प्रदेशको प्रतिवेदन प्रस्तुति, अग्रज गजलकारको गजलवाचन र महोत्सव घोषणापत्र जारी गरिने छ ।

अनेरास्ववियूको ‘हाम्रो स्कुल राम्रो स्कुल’अभियान अनेरास्ववियुले ‘हाम्रो स्कुल राम्रो स्कुल’ अभियान सञ्चालन गर्ने भएको छ । अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठकले विद्यालय शिक्षालाई प्रभावकारी बनाउन विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सार्वजनिक शिक्षाको सबलीकरणबिना शिक्षाले परिणममुखी नतिजा दिननसक्ने अनेरास्ववियूको ठहर छ ।

अनेरास्ववियूका नेता आरसी लामिछानेले शैक्षिक विकासबिना राष्ट्रको विकास सम्भव नरहेको भन्दै विद्यालय शिक्षाको सुधारका लागि अनेरास्ववियूले अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । “विद्यालय शिक्षा उच्च शिक्षाको जग हो”, उनले भने, “विद्यालय शिक्षालाई मजबुत बनाउन नसकेसम्म उच्चशिक्षा सबल बन्न सक्दैन ।” उनले भौतिक विकासलाई मात्र विकास सम्झने मानसिकता नहटाएसम्म समग्र विकासले गति लिन नसक्ने बताए । “हामी राजनीतिक लडाइँको अन्त्य गरी अब आर्थिक क्रान्तिमा होमिएका छौँ”, उनले भने, “शिक्षा सबै क्षेत्रलाई व्यवस्थित गर्ने माध्यम हो, यसको विकास अपरिहार्य छ ।”