काठमाडौँ । उद्घाटनको साँढे सात महीनापछि नारायणहिटी दरबार सङ्ग्रहालयमा निर्माण गरिएको गणतन्त्र स्मारक सञ्चालनका लागि हस्तान्तरण भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले बनाएको स्मारक गत जेठ १५ गते गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । स्मारक हस्तान्तरण गरिए पनि तयारीका काम बाँकी रहेकाले विसं २०७७ जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिने छ ।
स्मारक सञ्चालन गर्ने संस्थाले निर्माण सम्बन्धी व्यवस्था गर्दा हस्तान्तरणमा ढिलाइ भएको जनाएको छ । गत मङ्सिर ९ गतेको मन्त्रिपरिषद् बैठकले नारायणहिटी दरबार सङ्ग्रहालय तथा स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले स्मारक समितिलाई सञ्चालनका लागि दिने निर्णय पनि गरेको थियो । शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा विभागका महानिर्देशक मणिराम गेलालले स्मारक व्यवस्थापन एवं सञ्चालनका लागि समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई हस्तान्तरण गरे ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका शहरी विकासमन्त्री बाँस्कोटाले स्मारकमा लोकतान्त्रिक गणतन्त्रका लागि लाग्ने सबैको योगदानको इतिहास सुरक्षित हुनुपर्ने बताए । गणतन्त्र स्थापनाको इतिहास वर्तमान पुस्ताबाट भावी पुस्तासम्म पु¥याउन स्मारकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । मन्त्री बाँस्कोटाले भने, “गणतन्त्रलाई जीवन्त बनाउन देशको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गरिनुपर्छ, लडेर ल्याएको व्यवस्था संरक्षणका लागि जनता आफैँ लाग्नुपर्छ, स्मारकलाई आम्दानीको थलोका रुपमा पनि विकास गरिनुपर्छ ।”
काठमाडौँ आउने पर्यटकलाई स्मारक समेत घुमाउने गरी गन्तव्यका रुपमा विकास गरिनुपर्नेमा जोड दिदैं उहाँले नारायणहिटी दरबार सङ्ग्रहालय र स्मारक जोड्न इच्छुमती (टुकुचा) मा पुल हालिदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको महत्वपूर्ण गन्तव्यका रुपमा स्मारकलाई विकास गरिने बताए । “स्मारक, नारायणहिटी दरबार सङ्ग्रहालय र केशरमहललाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने गरी कार्ययोजना ल्याउने तयारीमा मन्त्रालय लागेको छ”, उनले भने, “निर्वाचित जनताका प्रतिनिधिले घोषणा गरेको गणतन्त्रलाई पूर्वराजाले समेत स्वीकार गरेकाले यहाँको मौलिक स्वरुप विश्व समुदायका लागि अध्ययनको विषय हुनसक्छ ।”
मन्त्री भट्टराईले अन्य देशमा गणतन्त्र स्थापनाका लागि हुने आन्दोलनमा धेरै मानिसले जीवन गुमाउने गरी युद्ध हुने गरेपनि नेपालमा शान्तिपूर्ण रुपमा परिवर्तन भएकाले स्मारक महत्व हुने बताए ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँको गणतन्त्र स्मारक पर्यटक तान्ने केन्द्र बन्नुपर्ने उल्लेख गर्दै भ्रमण वर्ष चलिरहेकाले एक महीनामै तयारी पूरा गरी पर्यटक बढाइनुपर्नेमा जोड दिए ।