समाचार

एमसीसीबारे यसो भन्छन् महराः मैले रोक्न खोज्दा म माथि राजनैतिक षड्यन्त्र भयो

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले अमेरिकाको प्रस्ताव मिलिएन च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) बारे मुख खोलेका छन् । महराले आफू सभामुख हुँदा एमसीसीको अनुदान सम्झौतालाई संसद्मा टेबल गर्न अनुमति नदिँदा आफूमाथि आन्तरिक तथा बाह्य शक्तिले षड्यन्त्र गरेको र जेलसमेत जानुपर्ने अवस्था आएको दाबी गरेका छन् ।

लगभग ५ महिनाको तनावपूर्ण जेल बसाइ समेतको जीवनबाट बाहिर निस्किएलगत्तै उनले एमसीसीको अनुदानलाई संसद्बाट अनुमोदन गर्ने प्रावधान सो सम्झौतामा उल्लेख भएकाले तत्कालीन समयमा संसद् पुगेको सम्झौतालाई महराले टेबल गर्न अस्वीकार गर्दै एमसीसीबारे थप अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । सर्वसाधारणले एमसीसीबारे त्यति थाहा नपाएको अवस्थामा सुटुक्क संसद्बाट सम्झौता पास गर्ने सरकारको प्रयास त्यतिबेला महराले विफल बनाइदिएका थिए ।

यो विषयबारे प्रधानमन्त्री केपी ओलीले महरा जेल चलान भएलगत्तै एउटा दैनिक पत्रिकामा अन्तर्वार्ता दिँदै महराले सम्झौता टेबल नगरेर गल्ती गरेको दोषारोपण सार्वजनिक गरेको थिए । त्यही कारणले आफूमाथि नैतिक आरोप सृजना गरी जेल जानुपर्नेसम्मको षड्यन्त्र गरिएको महराले जनाएका छन् । महरामाथि लागेको यौन दुव्र्यवहारको प्रयास मुद्दामा हालैमात्र जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका छन् । उनीमाथि दाबी गरिएको अभियोग पुष्टि नहुने भन्दै अदालतले महरालाई निर्दोष ठहर गरेको हो ।

महरा जेलमुक्त भएलगत्तैदेखि एमसीसी पारित गर्न हुँदैन भन्ने पक्षधरहरुले महराको एमसीसीबारे अवधारणा बुझ्न सामाजिक सञ्जालमार्फत उत्सुकता गरिरहेका बेला महराले एमसीसीको लागि पहलको सुरुवात आफैले गरेको स्वीकार गर्दै, तर संसद्बाट पास गर्ने सवालमा छलफलका लागि आफूले रोकेको पनि सगर्व दाबी गरेका छन् । महराले यो प्रकरण अध्ययन र छलफलको विषय भएकाले तत्काल टेबल गर्न आफूले अस्वीकार गरेको पनि खुलासा गरेका छन् ।

एमसीसीको अनुदान सम्झौता नेपालको हितमा नरहेको सत्तारुढ दल नेकपाकै वरिष्ठ नेतालगायतले दाबी गर्दै र एमसीसीको अनुदान अस्वीकार गर्न जनमत सृजना गर्दै आइरहेका भए पनि सरकार भने जसरी पनि पारित गर्ने पक्षमा देखिएको छ । प्रधानमन्त्री केपी ओलीले एमसीसीको अनुदान सम्झौता लागू गर्ने विषयलाई प्रतिष्ठाकै विषय बनाएका छन् ।

अमेरिकी स्वार्थका लागि ५५ अर्ब रुपैयाँको उक्त अनुदान सहयोग हालसम्मकै ठूलो भएकाले यसलाई कुनै पनि हालतमा स्वीकार्नुपर्ने सरकारको धारणा रहेको छ । अमेरिकाले पनि एमसीसी अनुदानलाई नेपालमा लागू गराउन चर्को दबाब दिँदै आएको छ र उसले एमसीसी पारित गराउन नेताहरुका घरघरमा दौडधूप पनि गरिरहेको छ । एमसीसीको माध्यमबाट नेपालमा प्रवेश गर्न सहज हुने भएकाले पनि अमेरिकाले सहयोगको बहाना बनाउँदै आएको स्पष्ट छ ।

यसरी बाह्य तथा आन्तरिक स्वार्थ मिसिएको एमसीसीमा केही संशोधन गर्नुपर्ने आवश्यकता महसुस गरी तत्काल आफूले संसद्मा टेबल नगरेको महराले स्पष्ट पारेका छन् । उनले भने– ‘एमसीसी जस्ताको तस्तै पारित गर्न उपयुक्त थिएन । त्यसैले केही समय पर्खौं भनेर रोकेको हुँ ।’ उनले आफ्नो त्यस्तो कदमले प्रधानमन्त्री ओली चिढिएको र आफू षड्यन्त्रमा परेको पनि जनाएका छन् । महराले आफू सहमतिको निम्ति सबैभन्दा लचिलो बन्ने गरेको पनि दाबी गरेका छन् ।