समाचार

मोडल खुस्बु ओली माथिको चेक बाउन्स अभियोग प्रमाणीत, २ वर्ष कैद सजाय

काठमाडौं । मोडल खुस्बु ओलिलाई काठमाडौं जिल्ला अदालतले दूई वर्षको कैद सजाय तोकेको छ । । लेनदेनको क्रममा सप्तरीका राजविराज–८ का गोपाल कटुवालले चेक बाउन्स सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो ।

दुई वर्ष अघि सप्तरीका राजविराज–८ का गोपाल कटुवालसँग खुस्बुले घरजग्गा खरिदका लागि भन्दै ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी फिर्ताका क्रममा खुस्बुले ३६ लाख रुपैयाँको चेक दिएकोमा कुमारी बैङ्क न्यूरोड शाखाबाट उक्त चेक ‘बाउन्स’ भएको थियो ।खातामा रकम नरहेको भन्दै बैङ्कबाट फर्काइएपछि आफूले खुस्बुलाई त्यसको जानकारी दिएको कटुवालको भनाइ छ । खुस्बुले केही दिनपछि रकम जम्मा गरिदिन्छु भन्दै आश्वासन दिएको तर फेरि पनि खातामा रकम नभएको भन्दै बैङ्कबाट फर्काइएको उनले बताए । तीन पटकसम्म यसरी नै बैङ्कबाट फर्किनु परेपछि उनले कानुनी उपचार खोजेका थिए ।

गत वर्ष उनले काठमाडौँ जिल्ला अदालतमा खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । गत जेठमा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मितिदेखिको साँवा, ब्याजसमेत तिर्नुपर्ने फैसला गरेको थियो ।अदालतको फैसला कार्यान्वयन नभएपछि कटुवाल फेरि न्याय माग्दै अदालत पुगे । अदालतले म्याद तामेली गर्दासमेत खुस्बु सम्पर्कमा नआएपछि कटुृवालले गत पुसमा जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही मुद्दाको फैसला गर्दै अदालतले खुस्बुलाई दुई वर्ष कैद सजाय तोकेको हो ।