काठमाडौं । नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार भएको घटनामा भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो भाइरल बनेपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ ।
महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा लगिएको बताए । ‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले पनि छानविन गरिरहेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ ।’
माला साहका लागि न्याय माग्न भन्दै हेम खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए ।श्रेष्ठले बच्चा बोकेकी थिइन् । इन्स्पेक्टर पौडेलले खत्रीको घरमा छिरेर हुलहुज्जत र तोडफोग गरेपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको र यसै विच सो घटना भएको स्पष्टिकरण दिएका थिए ।