एजेन्सी । विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारी साधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ ।
नासाको नक्सामा सुरूमा वुुहान र त्यसपछि वरपरका क्षेत्र हुँदै चीनभर नै प्रदुषणको मात्रा निकै तल झरेको वैज्ञानिकहरूले बताएका छन् । नासाका वैज्ञानिकले आफ्नो र यूरोपेली स्पेस निकायको सेटलाइटहरूले खिचेका तस्वीरलाई जम्मा गरी गरिएको अध्ययनमा यो वर्ष नाइट्रोजनडाइ अक्साइडको तह झरेको पाइएको बताए ।
चीनमा कोरोना भाइरसको सङ्क्रमणसँगै चीनले अपनाएको कडा नियन्त्रण प्रयासअन्तर्गत कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन् । नाइट्रोजन ग्यास खासगरी सवारी साधन र कारखानाले उत्सर्जन गर्ने धुवाँमा पाइन्छ ।
नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारन्टिनमा रहेको र नाइट्रोजन डाइअक्साइड घटेको समयावधि मिलेको बताएको छ ।
नासाका तस्बिरमा जनवरी र फेब्रुअरी महिनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ । सन् २०१९ को जनवरी र फेब्रुअरी महिनामा नासाले लिएको तस्बीरलाई तुलना गर्दा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको हो ।
नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् जनवरीको अन्त्यदेखि फेब्रुअरीमा चीनमा प्रदूषण केही घटेको पाइने गरेको तर पर्व सकिएपछि पुनः बढ्ने गरेको वैज्ञानिकहरूको भनाइ रहेको छ ।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भने, “कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीय रूपमा प्रदूषण घटेको मैले पहिलो पटक देखेँ ।
उनले भने, “यस वर्ष विगतमाभन्दा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको छ । मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस सङ्क्रमण फैलनबाट रोक्न देशभर अपनाइएका उपायका कारण प्रदूषणमा उल्लेख्य कमी आएको हो ।”