कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिकित्सकले औषधि लेख्दा प्रयोग सम्बन्धी विस्तृत जानकारी बिरामीलाई दिन जोड दिएका छन् ।
माया मेट्रो अस्पताल प्रालीले आजदेखि प्रयोगमा ल्याएको ‘सिटी स्क्यान’ उपकरणको शुभारम्भ गर्दै उनले विपन्न समुदायलाई सहुलियत उपचार सेवा प्रदान गर्न अस्पतालसंग आग्रह गरे । राष्ट्रियसभाका सदस्य शेरबहादुर कुँवरले अस्पतालले भित्र्याएको उपकरणबाट स्थानीयवासी लाभान्वित हुने बताए । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सिटी स्क्यान सेवा नपाएर बाटामै ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य भएको बताए ।
अस्पतालका सञ्चालक धिरेन्द्र साउँदले व्यावसायिक रुपमा मात्र नभई सामाजिक सेवामा पनि समर्पित रहेको बताए । करिब रु तीन करोड मूल्य बराबरको सिटी स्क्यानको उपलब्धका सँगै काठमाडौ, भारतको बरेली, लखनऊलगायत शहरमा जानुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ ।