समाचार

खरको छानो हटाउने अभियान शुरु, वडाले दियो ३३ परिवारलाई निःशुल्क जस्तापाता

खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं १० का ३३ घर परिवारलाई निःशुल्क जस्तापाता वितरण गरिएको छ । चैनपुरको वडा नं १० ले खरको छानो हटाउने अभियान शुरु गरेको वडाध्यक्ष तेजबहादुर कटुवालले जानकारी दिए ।

चैनपुरको वडा नं १० र समाज स्पर्श समितिको सहयोगमा सल्लेरीका ३३ परिवारलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष कटुवालले बताए । चुनावमा गरिएको प्रतिबद्धताअनुसार आफ्नो कार्यकालभित्र वडालाई खरको छानोमुक्त बनाउने उनको भनाइ छ ।

“चुनावमा हामीले गरेको प्रतिबद्धताअनुरुप खरको छानो विस्थापित अभियान शुरु गरेका हौँ”, वडाध्यक्ष कटुवालले भने । खरको छानो सुरक्षाका दृष्टिकोणबाट समेत असुरक्षित भएका कारण खरको छानो विस्थापित गर्ने लक्ष्य रहेको उनले बताए ।

वडा नं १० का गरिब तथा विपन्न वर्गका विभिन्न समुदायका परिवारलाई खरको छानोबाट मुक्त बनाउन गत पुसदेखि जस्तापाता वितरण गरिरहेको अध्यक्ष कटुवालको जानकारी दिए । सुक्खा क्षेत्र त्यसमा पनि खरको छानो भएका घर संधै आगजनी खतरामा हुने भएकाले पनि जस्तापाता नै उपयोगी हुने अध्यक्ष कटुवाले बताए ।

उनले भने, “पहिलो चरणमा गरिब तथा विपन्न वर्गको घरमा खरको छानो फेर्ने योजना रहेको छ ।” सुरक्षित आवासका लागि यो कार्यक्रम निरन्तर चल्ने वडाध्यक्ष कटुवालले जानकारी दिए । पुस महिनाबाट पहिलो चरणमा ३३ घरपरिवारलाई घरको साइजअनुसार जस्तापाता वितरण गरिएको बताइएको छ ।