विचार/ब्लग

काठमाडौंमा पनि रोकिदैन त दलितमाथीको अमानवीय व्यवहार?

शोभा रावत् । विभिन्न समय कालखण्ड पार गदै यतिबेला मुलुक २१ औं शताब्दीमा आईसकेको छ । हरेक कुरामा मुलुक धेरै परिवर्तन भईसकेको छ । हिजोको तुलनामा आज हरेक कुरामा विकास भईसकेको छ । प्राविधिक, आर्थिक, राजनीतिक सबै कुराहरु आधुनिक तरिकाले विकासको बाटोमा बिश्व नै दौडिरहेको छ ।

आधुनिक युगका कारण मानिस शिक्षित हुनुका साथै मान्छेमा हरेक कुरालाई सोच्ने र बुझ्ने प्रवृत्ति अलग भएको छ । प्रबिधिको बिकासका कारण पनि हिजोको भन्दा आजको मान्छे धेरै नै शिक्षित छ । मुलुकमा बसोबास गर्ने सबै नागरिक एकै समान हुन चाहे जात–जाती, भाषा–भाषी, लिंग, गरिब–धनी जे भएपनि सबै समान हो भन्ने कुराको ज्ञान बिश्वभर नै लगभग सबै बिश्वबिद्यालयमा अध्ययन-अध्यापन हुने गर्दछ ।

कसैलै कसैको जाती, भाषा, लिंग, धनी–गरिब, कालो–गोह्रो आदिका कारणले कसैलाई सानो सम्झनु पनि हुँदैन भन्ने समाजमा स्थापीत छ । गाँउमा दलित भएका कारण पानी छुनु हुँदैन भन्ने प्रचलन हट्दै कुनै समयमा दलितको मामलामा कठोर समाज आज केहि परिवर्तन हुँदैछ । दलितलाई छुनु हुँदैन, छोएको पानी पनि खानहुँदैन भन्नेहरु आज एउटै भान्सामा बसेर खाना खाने गर्दछन् । हिजोको तुलनामा आज हरेक नेपालीले अर्काे नेपालीलाई ईज्जत गर्न जानेको छ, यो राम्रो पक्ष हो । सरकारले पनि सरकारी पक्षमा दलित, महिला, अपाङ्गता, पीछडीएको बर्गको लागि भनेर विभिन्न क्षेत्रमा बिषेश अधिकारसहित कोटा पनि छु्ट्याएको छ ।

कुनै समय समाजमा हुने जातीय बिभेदको त्यो दलदल बाट पनि नेपाली समाज आज धेरै अगाडी आईसकेको छ । कति ठाउँमा एक दलितसंग आफ्नी छोरी राजिखुशी बिबाह गरिदिने आमा बामु पनि छन् । आज एउटै कार्यालयमा हरेक जात–जातीका मान्छेहरु सहर्मीका रुपमा काम गर्ने र संगै बसेर खाजा, नास्ता, खाना खान हिचकिचाउदैनन्, यो पनि राम्रो पक्ष हो ।
कि पहिले भन्दा अहिले मान्छेको सोचाईमा जातीयता, लिङ्गीयता, बर्गलाई लिएर भेदभाब गर्न छाडिदै गएको छ । जातीयताको बिषयमा कसैलाई सानो सोच्ने वा हेप्ने हाम्रो नेपाली समाजले आज धेरै फड्को मारिसकेको छ । जातजाती वा भाषा भाषीका आधारमा कसैलाई हेप्नु वा सानो सम्झनु गलत हो भन्ने कुरा केही बुझ्ने भएका बालबालीकामा पनि ज्ञान भएको देख्न सकिन्छ । जात भन्ने कुरा भगवानले बनाएको त होईन, उनीहरुले आफूले चाहेर भएका पनि होइनन् । शताब्दीयौं अगाडी कामका आधारमा शासकहरु मिलेर बनाएका हुन सक्छन् जो समाजमा आफुलाई विशिष्ठ देखाउन चाहन्थे, उनीहरुले आफूलाई उच्च जातको आफैं घोषणा गरे ।

घरबेटीको कुरा हामीले सुनेका छैनौं, घरबेटीले बाहुन वा क्षेत्री नै भएपनि कोठाबाट निकाल्न सक्ने कानूनी ब्यवस्था छ । कोठाबाट निकाल्दा दलित भएर निकाले भन्ने भ्रमसहितको आरोप हो भने चैं घरबेटीप्रति पनि अन्याय नै हुन्छ । न्यायीक निकायले हावातालमा भन्दापनि गहन अध्ययन गरेर अगाडी बढ्नु राम्रो देखिन्छ । नेपाली समाजमा प्रायःजसो घटनाहरु चैं बाहुन क्षत्रीले दलीत भएकै कारणले कोठाबाट निकालेका घटनाहरु छन् । 

यो कुरा आजको नेपाली समाजले धेरै नै बुझेको पनि छ । तर यसो भन्दैमा जातीय बिभेद पुरै निर्मुल भएको छ भन्ने अवस्था चाँहि छैन । आजपनि मुलुकमा जातीय विभेद छ, धेरै कम भएके मान्न तयार हुनैपर्छ तर शिक्षित बर्गमा पनि जातीय बिभेद कायम नै छ भन्नुपर्दा समाजको हित चिताउने जोकोहीलाई पनि आश्चार्य लाग्न सक्छ । भनिन्छ नि समाजमा स्थापीत भएको कुनैपनि कुरालाई जरैदेखी उखेलेर फाल्न कठिन हुन्छ । त्यस्तै नेपाली समाजमा आजपनि तिनै शिक्षित र आधुनिक भनाउँदाहरु नै धेरै छुवाछुतमा विश्वास राख्दछन्, र कमजोर वा दलीतलाई हेप्छन्, समाजमा तिरस्कार गर्दछन् ।

मुलुकको विकट ठाउँहरुको त कुरै छोडौं राजधानी काठमाडौं जस्तो ठाउँमा जातीयताको नाममा विभेद भएको घटना बेला–बेला सुन्नमा आईरहेका हुन्छन् । मुलुकको राजधानी भएकाले पनि सबैभन्दा धेरै शिक्षित मान्छेहरुको बसोबास रहेको छ । तिनै शिक्षीत व्यक्तिहरुले चरम जातीय विभेद गरिरहका उदाहरण प्रशस्त छन् । काठमाडौंमा घर हुनेहरुले एउटा दलित भएको भन्दै कोठा नदिने वा दिएपनि दलित भएको चाल पाए कोठा छाड्न लगाउने तमाम घटना देख्न सकिन्छ । यस्ता घटनाहरु हाम्रै आँखा अगाडीपनि भईरहेको हुन्छ तर यस्तो गर्नु गलत हो भनेर आवाज उठाउने आँट कसैमा हुँदैन ।

पछिल्लो समयमा काठमाडौंमै त्यस्तो एक घटना सार्वजनिक भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको घरमा डेरा गरी बस्ने केहि बिद्यार्थिहरुले आफुलाई घरबेटीले दलित भएकै कारण घर छाड्न लगाएको भन्दै कारबाहीको माग गर्दै पत्रकार सम्मेलन गरेका थिए । जातीय विभेदका विरुद्ध आवाज उठाउन केहि शाहस जुटाए नै तर पनि उनिहरुको केहि लागेन । के कारणले निकालिएको हो त्यो पुष्टी नभएपनि दलीत भएको कारण नै उनीहरुलाई कोठाबाट निकालिएको हो भने त्यो सरासर गलतमात्र नभएर अमानवीय छ । नेपालको संबिधानले पनि त्यो सही हो भने गलत नै ठान्दछ ।

कैलाली र दैलेख स्थायी घर भई काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुले आफुहरुलाई दलित भन्दै घरबेटीले अपमान गरि घर छाड्न दबाब दिएको बताएका थिए । यतिमात्रै होईन सोहि घरमा वस्ने अन्य व्यक्तिले पनि आफुहरुलाई दलित भएको भन्दै घरबेटीसंग मिलेर अभद्र व्यवहार गरेको उनीहरुको गुनासो थियो । अध्ययनरत विद्यार्थी विपीन बिक, गायीकासमेत रहेकी धना परियार, राज नेपाली लगाएतकाले जातियताको बाहनामा हुने विभेदप्रति पत्रकार सम्मेलन नै गरेर अक्रोस व्यक्त गरेका थिए ।

घरबेटीले आफुमाथी दुब्र्यवहार गरेको भन्ने कुरा मानव अधिकारवादीहरुलाई जानकारी गराएपछि घरबेटीले आफुहरुलाई बस्दा सम्म बस्न दिने बचन दिएको पीडितहरुले पत्रकार सम्मेलनमा बताएका थिए । केहि समयमा फेरि अर्काे बहाना बनाउँदै आफुहरुलाई कोठा छाड्न दबाब दिएको उनीहरुले बताएका छन् । उनीहरु उक्त घरमा गत मंसिर १३ गतेदेखि बस्दै आएका थिए । सुरुमा आफुहरुको जातको बारेमा अनभिग्य घरबेटीले थाहापाएसंगै घर छोड्न दबाब दिन सुरु गरेको उनीहरुको भनाई छ ।

यस्ता घटना त एउटा उदाहरण मात्रै हुन् । आजपनि मुलुकमा जातीयताको नाममा विभेद गर्न छोडिएको छैन । बिभिन्न स्थानमा तल्लो जातीले पानी, धारो छोईदियो भन्दै मरणासान्न हुनेगरी कुटपिट हुने गरेको घटनाहरु बेलाबखतमा सञ्चारमाध्यममा आउने गरेकै हुन्छन् ।

यस्तै भौगोलिकताका आधारमा पनि जातीय छुवाछुतमा प्रभाव परेको हामी देख्न सक्दछौं । छुवाछुत हुने गरेपनिनेपालको पुवी भागको तुलनामा पश्चिमी भागमा धेरै यस्तो कार्य हुने गर्दछन् । यो भन्दैमा पुर्वमा बसोबास गर्नेले जातीय छुवाछुत गर्दैन भन्ने चाँहि होईन छुवाछुत हुने गरेपनि पश्चिमतिर अँझै बढी भेदभाव हुने गरेको पाईन्छ । तराई तथा पश्चिम क्षेत्रका धेरै ठाउँहरुमा अझै पनि कुवा र धारामा दलित वर्गका जातीहरुलाई जान नदिई पीँउने पानी जस्तो अति आवश्यकीय दैनिक उपभोग्य वस्तुबाट समेत टाढै राख्ने काम भैरहेको छ । जसले गर्दा दलित समुदायले खोला तथा नदीको दुषित पानी पीँउन वाध्य छन् । मन्दीर जस्तो सार्वजनिक स्थलमा प्रवेश गर्दा दलितहरुले यातना पाई अन्त्यमा मृत्युवरण गर्नु पर्ने अवस्था सम्म पुग्न वाध्य छन् ।

छुवाछुत तथा दुव्र्यबहार गर्ने ब्यक्तिलाई कारबाहि गर्न सरकारले कानुन निर्माण गरेपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । सरकारले बनाएको कानुन एक कागजि पानामा मात्रै सीमित छ । यस्तै नेपाललाई २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरिएको थियो । हरेक साल जेठ २१ गते जातिय विभेद उन्मुलन दिवस आज मनाइदै आईएको पनि छ । दिवसको अवसरमा विभिन्न गोस्ठी, सेमिनार, विभिन्न नारा जुलुसको आयोजनाहरु गरिन्छन् लाखौं खर्च गरिन्छन् तर नेपालमा छुवा–छुतको अवस्या भने जिउँको– तिउँ नै ।

गणतन्त्र नेपालमा छुवाछुत मुक्त नेपाल घोषणा गरिसकेको अवस्थामा छुवाछुत जस्ता घटनाहरु घटाउनेहरुलाई कडा भन्दा कडा कारबाही नगरिएसम्म मुलुकमा जातीय विभेदको अन्त्य कहिलै हुने छैन । समय परिवर्तन भन्दा पनि समय संगै सबैको सोचाईमा परिवर्तन नआउँदासम्म यो छुवाछुत भन्ने कु–प्रथाको अन्त्य कहिले हुने छैन । जसका लागि सबैले आफ्नो सोचाईलाई परिवर्तन गर्न जरुरी छ । हामी सबै एकै हौं जातपातको आधारमा कोहि सानो वा ठुलो हुँदैन ठुलो हुन्छ त कुनै व्यक्तिको असल व्यत्तित्व, चरित्रले यसको बारे सबैले बुझ्न जरुरी छ ।