समाचार

छुट्टा छुट्टै तीन सडक दुर्घटनामा परी २ जनाको मृत्यु १७ घाइते

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो ।

दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ ।

घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

त्यसैगरी पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प अगाडि ठक्कर खाएको थियो ।

बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ । ठक्कर खाने दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

अर्को घटना बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै घाइते उनको मृत्यु थियो । सोही दुर्घटनामापरी रामेछाप जिल्ला मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते भएका र उनको उपचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ ।