एजेन्सी । अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेको छ ।
ब्लूमबर्गले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दैछु ।”
न्यूयोर्क शहरका पूर्व मेयर ब्लूमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गरेको थियो । उनले अब पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने बताए ।
“डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतीय चुनावमा पराजित गर्न डेमोक्रेटिक पार्टी एकजुट हुनुको विकल्प छैन । पछिल्लो मतदानको नतिजापछि अब प्रष्ट के भएको छ भने मेरो उम्मेदवार जो बाइडेन छ, र उनले चुनाव जित्ने सम्भावना बढेको छ ।”
अमेरिकी अर्बपति व्यापारी ब्लूमबर्गले जनवरीको अन्त्यसम्ममा करिब ४० करोड ९० लाख खर्च गरेको उनले संघीय निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ । तर उनले फेब्रुअरीमा पनि निकै बढी खर्च गरेको विश्वास गरिन्छ ।
मङ्गलबार भएको १४ वटा राज्यको चुनावमा ब्लूमबर्गले समोआ द्वीपमा मात्र विजय हासिल गरेको थियो । तर जो बाइडेनले अप्रत्यासित रुपमा १० वटा राज्यमा चुनाव जितेको थियो ।
चुनावमा निकै प्रभावशाली मानिएका सिनेटर बर्नी स्यान्डर्सले चार वटा राज्यमा विजयी भएको थियो । निकै बढी प्रतिनिधि छनौट हुने क्यालिफोर्निया राज्यमा भने स्यान्डर्सले बाजी मारेको थियो ।
डेमोक्रेटिक पार्टीका तर्फबाट अब जो बाइडेन वा स्यान्डर्समध्ये एकले आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नु पर्नेछ ।